Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित

देशभर ६६ हजार तीन सय ५२ जना सक्रिय संक्रमित

काठमाडौँ उपत्यकामा मात्रै ३० हजार एक सय ५५ जना


काठमाडौं ।
काठमाडौं उपत्यकामा बुधबारसम्म ३० हजार एक सय ५५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२ हजार आठ सय आठ, ललितपुरमा चार हजार छ सय र भक्तपुरमा दुई हजार सात सय ४७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६६ हजार तीन सय ५२ पुगेको छ ।

यस्तै, बुधबार मात्रै उपत्यकामा एकै दिन तीन हजार आठ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंँमा दुई हजार आठ सय ४९, भक्तपुरमा चार सय ५८ र ललितपुरमा पाँच सय १८ जना कोरोना सङ्क्रमित भेटिएको मन्त्रालयले जनाएको छ । एकै दिन काठमाडौँ उपत्यकामा १५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार देशभर ५८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार चार सय ७५ पुगेको छ । यस अवधिमा एक हजार नौ सय ९३ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ८९ हजार सात सय ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

बुधबार नेपालमा थप आठ हजार छ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा पीसीआर विधिबाट आठ हजार छ सय पाँच र एन्टिजेन विधिबाट ५४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । पीसीआर विधिबाट २० हजार सात सय ५६ र एन्टिजेन विधिबाट छ सय १६ गरी २१ हजार तीन सय ७२ को स्वाब परीक्षण गरिएको थियो ।

अब नेपालमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार छ सय १० पुगेको छ । कोरोना सङ्क्रमण भएका चार हजार सात सय ६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार पाँच सय ८८ जना होम आइसोलेसनमा रहेका छन् । आइसीयुमा छ सय र भेन्टिलेटरमा एक सय ५६ जना उपचार गराइरहेका छन् ।

५६ जिल्लामा निषेधाज्ञा : बुधबार रातिसम्म देशभरका ५६ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । गृह मन्त्रालयका अनुसार धनकुटा, सिन्धुपाल्चोक, इलाम, तनहुँ, म्याग्दीमा आंशिक निषेधाज्ञा लगाइएको छ भने देलखा, नवलपरासी पश्चिम, सिराहा, बारा, मुगु, रोल्पा, नवलपरासी पूर्वमा भने जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

मुलुकमा कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ७ देखि जारी हुनथालेको निषेधाज्ञा बुधबारबाट ५६ जिल्लामा पुगेको हो । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञ जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ ।

यसअघि नै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रूपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञ लागू गरिएको छ ।

यस्तै प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र बैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि आदेश कार्यान्वयनमा छ । त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दी आंशिक निषेधाज्ञा छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया