Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौंको वसुन्धराको बीपी अस्पतालको ठगी धन्दा

काठमाडौंको वसुन्धराको बीपी अस्पतालको ठगी धन्दा

डाक्टर र नर्सले प्रयोग गर्ने पन्जा, पीपीई, क्याप, मास्कको पैसा प्रत्येक बिरामीसँग प्रतिदिन ३५ सयका दरले असुल गर्दै


काठमाडौँ । एउटै पीपीई लगाएर सबै बिरामीको जाँच गर्छन् तर पैसा सबैसँग उठाइरहेका छन् : बिरामी

नयाँ भेरियन्टको कोभिड–१९ ले देश करिब लकडाउनकै अवस्थामा छ । तोकिएका निश्चित व्यवसायबाहेक अन्य बन्द छ । हिँड्डुल र सवारीसाधन सञ्चालनमा निषेध गरिएको छ । सरकारी, अर्धसरकारी तथा निजी सबैजसो कार्यालयहरूमा अत्यावश्यकबाहेक अरु काम बन्द छ ।

दोस्रो चरणको महामारी सुरु भएपछि शनिबार दिउँसो ४ बजेसम्म ६३ जिल्लामा निषेधाज्ञा घोषणा भएको छ । तीमध्ये ५२ वटा जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा भएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । घोषित ६३ मध्ये संखुवासभामा आइतबारदेखि र अरु जिल्लाहरूमा निषेधाज्ञा जारी छ । कतिपय जिल्लाहरू निषेधाज्ञाको म्याद थप गरिसकेका छन् ।

महामारीमा सक्नेले सहयोग गर्नुपर्नेमा जताततै महंगी र कालोबजारी मौलाएको छ । अहिले नागरिकलाई सहयोग गर्नुपर्ने अस्पताल, क्लिनिक र औषधि पसलहरूले हो । तर, दुर्भाग्य यी ठाउँमै सबैभन्दा बढी कालोबजारी भएको छ । अस्पतालमा छिर्न पनि आम्दानीको स्रोत देखाउनुपर्ने अवस्था छ । भरपर्दो आम्दानीको स्रोत नदेखाउने बिरामीलाई अस्पतालको गेटबाटै फर्काइने गरेको छ ।

सबै निजी अस्पतालहरूले अहिले महामारीमा मानवीय सहयोग होइन बिरामीको सबै सम्पत्ति लुट्ने प्रयास गरेका छन् । यसको एउटा उदाहरण भएको छ, काठमाडौंको वसुन्धरा प्रहरी चौकी (तिलिङ्गटार चौकी) पछाडि रहेको बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड । यो अस्पतालमा भर्ना हुने बेलैमा बिरामीको पेश र मासिक आम्दानी सोध्ने गरिन्छ । राम्रो आम्दानी नहुनेले भर्ना नै पाउँदैनन् । यो समस्या बीपीमा मात्र होइन काठमाडौंका सबैजसो निजी अस्पतालमा छ । बीपीमा न अस्पतालको भौतिक सुविधा स्तरीय छ, न त स्वास्थ्य सेवा नै । तर, कोभिडका बिरामीसँग यसले यसरी शुल्क असुल गरेको छ कि यसलाई लुटकै संज्ञा दिनुपर्ने अवस्था छ ।

वीपी अस्पतालमा कुनै पनि कोभिडका बिरामीले डाक्टर र नर्सले प्रयोग गर्ने पन्जा, पीपीई, क्याप, मास्कको पैसा दैनिक तीन हजार तीन सय रुपैयाँ तिर्नुपर्छ । बिरामीसँग त्यसरी पैसा असुल गरेपछि अस्पताल व्यवस्थापनले प्रत्येक बिरामीको चेकजाँच गरेपछि पीपीई, पन्जा, क्याप र मास्क परिवर्तन गर्नुपर्नेमा त्यो कहिल्यै पनि गरेको छैन । कैयौँ दिनसम्म एउटै पीपी लगाएर नर्सहरू सेवामा खटिन्छन् । तर, अस्पतालले भने सबै बिरामीसँग प्रत्येक दिन तीन हजार तीन सयका दरले पन्जा, पीपीई, क्याप र मास्कको पैसा असुल गरिरहेको छ ।

केही दिनअगाडि मात्र बीपी अस्पतालको कोभिड वार्डबाट डिस्चार्ज भएका एक बिरामीले आर्थिक दैनिकलाई उपलब्ध गराएको बिल र त्यहाँको घटना विवरणअनुसार उपचारको नाममा बीपी अस्पतालमा लुट मात्र मच्चाइएको छ । यतिसम्म कि कोभिडका बिरामी राख्ने बेडसँग मोबाइल चार्ज गर्ने प्लग पनि फुटेको छ । बेडहरू निश्चित दूरीमा राख्नुपर्नेमा त्यो पनि छैन । ‘बीपी अस्पतालमा तल्लो तलाको जनरल वार्ड र कोभिड वार्डको बेडमा केही फरक छैन, मलाई राति जाडो भएपछि ओढ्ने माग्दा छैन । चाहिए घरबाट ल्याएर ओढ्नु भन्ने जवाफ आएपछि मैले घरबाट ओढ्ने मगाएर रात कटाएँ’, ती बिरामीले भने,‘त्यसपछि मैले आफैैँले भनेर डिस्चार्ज भएर अहिले घरमा आएर आराम गरिरहेको छु ।’

बीपी अस्पतालको लुटबारे बताएका ती बिरामीले नाम नराखिदिन आग्रह गरे । तर, उनले बिलको फोटोकपी भने पत्रिकामा छाप्न सहमति दिए । ‘कोभिडको बेलामा अस्पतालहरूले लुट मच्चाएका छन् । बिल छाप्दा हुन्छ । त्यो कसले दियो भन्ने अस्पतालले थाहा पाएर मलाई केही भएन’, ती कोभिडका बिरामीले आर्थिक दैनिकसित भने, ‘लुटिन पनि पर्ने । मलाई लुटे भनेर पनि भन्न नपाउने यस्तो पनि हुन्छ ?’ तर, त्यही अस्पतालको व्यवस्थापनले सरकारले कोभिडका बिरामीलाई हेरचाह गरेन भनेर सामाजिक सञ्जालमा लेख्ने काम गरिरहेका छन् ।

No description available.

तर, आफू संलग्न अस्पताले लुट मच्चाएको बारेमा भने केही बताएको छैन । बीपीले सामान्य कोभिड बेडको प्रतिदिन सात हजार रुपैयाँ शुल्क लिने गरेको छ । त्यो शुल्कपछि पनि डाक्टर र नर्सको भिजिटको शुल्क भिन्नै लिने गरेको छ । ती शुल्कपछि पीपीई, मास्क, पन्जा र क्यापको भिन्नै शुल्क लिने गरेको हो ।

बीपी अस्पताल मात्र होइन, सँगै सामाखुसीमै रहेको कान्तिपुर डेन्टल कलेजको लुट पनि अझै ठूलो छ । उक्त अस्पतालले त एक जना कोभिडका बिरामीसँग एक रातको बेड चार्ज मात्रै २८ हजार पाँच सय रुपैयाँ लिने गरेको छ । पीपीई, पन्जा, मास्क, ग्लोब्सको पैसा बीपीको भन्दा धेरै असुल गर्ने गरेको छ । चार दिन बस्दा तीन लाख ७० हजारभन्दा बढी औषधिबाहेककै चार्ज कोभिडका बिरामीले तिर्ने गरेका छन् ।

अहिले अक्सिमिटरको कालोबजारी पनि राम्रैसँग फस्टाएको छ । तर, स्थानीय प्रशासनले रोक्नसकेको छैन । काठमाडौंमा मात्र होइन काठमाडौंबाहिर पनि अहिले शरीरमा भएको अक्सिजन नाप्ने अक्सिमिटरको कालोबजारी भएको छ । बढीमा एक हजार नौ सय पाउने अक्सिमिटरको तीन हजार पाँच सयमा बिक्री गरेको पत्ता लागेपछि वीरगञ्जका ३२ वर्षीय रामहरि तिवारीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

काठमाडौंका कैयौँ अस्पतालले अहिले अक्सिजनमा पनि कालोबजारी गरेका छन् । कतिपयले अक्सिजनमै महंगो मूल्य लिने गरेका छन् । अक्सिजन नभएको भनेर बिरामी भर्ना नसक्ने घोषणा पनि अस्पतालहरूले गर्नथालेका छन् । उनीहरूले अक्सिजन ल्याउने पहल गर्नुको सट्टा बिरामी नै नलिने भनेर मानिसको जीवनमाथि खेलबाड गरिरहेका छन् ।

शनिबार मात्र मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर, हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताले पनि अक्सिजन नभएको भन्दै सेवा प्रदान गर्न नसकिने जनाएको छ । तर, अक्सिजनका लागि यो ठाउँमा पहल गरेर सम्भव नभएको भनेर उनीहरूले बताएका छैनन् । काठमाडौंका अन्य निजी अस्पतालले पनि चर्को शुल्क लिन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले स्पष्टीकरण सोधे पनि त्यस्तो स्पष्टीकरणले अस्पतालहरूको लुट रोकिएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया