Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको चुक्ता पुँजी बढ्यो

बैंकिङ क्षेत्रको चुक्ता पुँजी बढ्यो

६६ बैंक तथा फाइनान्सको कुल चुक्ता पुँजी तीन खर्ब ६४ अर्ब


काठमाडौं ।
बैंक तथा फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरूसहित कुल ६६ वटा संस्थाहरूको कुल चुक्ता पुँजी तीन खर्ब ६४ अर्ब ८७ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिमा वाणिज्य बैंकहरूको मात्र चुक्ता पुँजी तीन खर्ब १६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ भने विकास बैंकहरूको कुल चुक्ता पुँजी ३३ अर्ब ४५ करोड १० लाख रुपैयाँ पुगेको छ । फाइनान्स कम्पनीहरूको कुल चुक्ता पुँजी भने यस अवधिमा १४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालका अनुसार ठूलो संख्यामा विकास बैंक र फाइनान्स कम्पनीहरू मर्जर तथा प्राप्तिमा सामेल भएका कारण पनि यस्ता संस्थाहरूको कुल चुक्ता पुँजीमा केही कमी आएको छ ।

‘मर्जर तथा प्राप्तिमा जाँदा ठूलो संस्थासँग जाने हुँदा वाणिज्य बैंकहरूको चुक्ता पुँजी बढेर र विकास बैंक र फाइनान्स कम्पनीहरूको सामान्यरुपमा घटेको हो’, प्रवक्ता ढकालले भने । प्रवक्ता ढकालका अनुसार चालू आवको पछिल्लो आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको कुल संख्या भने एक सय ४३ कायम भएको छ । सोअनुुरुप २७ वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक, २० वटा फाइनान्स कम्पनी, ७६ वटा लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०७७ फागुन मसान्तसम्ममा कुुल दुई सय १३ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति प्रक्रियामा सामेल भइसकेका छन् । ‘यसमध्ये एक सय ६१ वटा संस्थाको इजाजत खारेज हुन गई कुल ५२ वटा संस्था मात्र कायम रहेको छ, सोही कारण पनि पछिल्लो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटेको हो’, प्रवक्ता ढकालले भने ।

यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने १० हजार चार सय ३० पुगेको छ । जसमध्ये वाणिज्य बैंकहरूको कुल शाखा संख्या चार हजार छ सय ३२, विकास बैंकहरूको एक हजार ६९, फाइनान्स कम्पनीहरूको दुई सय ५६ र लघुवित्त वित्तीय संस्थाहरूको चार हजार चार सय ७३ वटा शाखाहरू सञ्चालनमा छन् । राष्ट्र बैंकका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो भने २०७७ असार मसान्तमा यस्तो संख्या नौ हजार सात सय ६५ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया