Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बिक्री गर्ने पक्राउ

स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बिक्री गर्ने पक्राउ

स्टासेफ बिक्री गर्ने ड्रग्स हाउस शंकाको घेरामा


विराटनगर ।
स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बढी मूल्यमा बिक्री गर्ने दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१० अशोक चोक बस्ने २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका–१६ रानी बस्ने २३ वर्षीय श्रवण कुमार यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

आलमले सोही महानगरपालिका–४ स्थित साथी मेडिकल औषधि पसलबाट स्टासेफ नामक औषधि किनेर त्यसमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँस गरी बढी मूल्य राखी बिक्री गर्नेगरेको थिए । साथै प्रहरीले उक्त औषधि पसलबाट स्टासेफ नामक औषधि चार सिसि र रेम्डिसिभिर नामक औषधि एक सिसि समेत बरामद गरेको छ । थप अनुसन्धान गर्ने क्रममा उक्त स्टासेफ औषधि ९० रूपैयाँमा खरिद गरी आठ हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । उक्त

औषधिमा टाँस्ने स्टीकर भारतको पटनाबाट आयात गरी ल्याएको र त्यसमा श्रवण कुमारको समेत संलग्न रहेको खुल्न आएपछि प्रहरीले उनलाई घरबाट नै पक्राउ गरेको हो । कोरोनाको उपचारका लागि परीक्षणको रूपमा रहेको रेम्डिसिभिर बिक्री गर्ने अनुमति नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग आबद्ध कोरोना अस्पतालका फार्मेसीलाई मात्र प्राप्त छ । यो औषधि गतवर्ष भारतबाट आएको थियो । यस पटक भारत आफैँलाई अपुग भएकोले अन्य देशमा भारत सरकारले पठाउने अनुमति समेत दिएको छैन ।

नेपालसहितका अन्य देशहरूमा अहिले रेम्डिसिभिर औषधिको अभाव छ । यो औषधि कोरोना संक्रमितका लागि अझै पनि परीक्षणकै रूपमा रहेकोले कति प्रतिशत लाभकारी छ भन्ने हालसम्म कुनै ठोस प्रामाणिक आधार समेत बनिसकेको छैन ।

यद्यपि हाम्रो देशमा चलेको अहिलेको उपचार पद्धतिमा अन्तिम विकल्पको रूपमा यसको प्रयोग गर्नेगरेको चिकित्सकहरूले बताउने गरेका छन् । यो औषधि नै अन्तिम ‘रामवाण’ हो भन्ने बुझाइका साथ बिरामीका आफन्तजनले चिकित्सकलाई प्रयोग गर्न दबाब दिनेगरेका समेत घटना सार्वजनिक हुनेगरेका छन् । जसका कारणले गर्दा रेम्डिसिभिर औषधिको माग उच्च छ । यही मौकाको फाइदा उठाउनको लागि अहिले नक्कली रेम्डेसिभिर बनाउने गिरोह सक्रिय भएको पाइएको हो । आलम र यादव पक्राउ भएपछि विराटनगरमा नक्कली रेम्डिसिभिर बेच्ने ठूलै गिरोह सक्रिय रहेको प्रहरीस्रोतको दाबी छ ।

स्टासेफ र रेम्डिसिभिर बट्टाको साइज र आकार एउटै हुने भएकोले नक्कली लेबल लगाएर सो गिरोहले स्टासेफलाई रेम्डेसिभिर भन्दै बेच्दै आएको प्रहरीको भनाइ छ । ‘स्टासेफ’ इन्जेक्सन एन्टिबाइटिक औषधि हो । त्यसको बजारमूल्य ९० रूपैयाँ मात्र पर्ने गरेको छ । रेम्डिसिभिरको बजार मूल्य साढे पाँच हजारसम्म पर्ने जानकारहरू बताउँछन् ।

उक्त गिरोहोले नक्कली रेम्डिसिभिर समेत १३ हजारसम्म प्रतिभाइल बेच्ने गरेको प्रहरीको दाबी छ । स्रोतका अनुसार पक्राउ परेका सोनु आलमलाई नक्कली रेम्डिसिभिर बनाउनका लागि स्टासेफ विराटनगरको श्री गणेश ड्रग्स हाउसले पनि बिक्री गर्दै आएको थियो । उक्त ड्रग्स हाउसका सञ्चालक ताराचन्द अग्रवाल रहेका छन् । तर उक्त ड्रग्स हाउसको कारोबार सौरभ र गौरभ अग्रवाल दुई दाजुभाइले नै हेर्ने गरेको स्रोतको दाबी छ ।

कोरोनाको माहामारी चल्न थालेपछि अग्रवाल दाजुभाइले ठूलो मात्रामा स्टासेफ स्टक गरी भण्डारण गरेका थिए । नक्कली रेम्डिसिभिर बनाउने गिरोहसँग स्टासेफ सप्लायर्सको साँठगाठ हुनसक्नेतर्फ पनि प्रहरीले आफ्नो अनुसन्धान थाल्नुपर्ने टड्कारो आवश्यकता देखिनथालेको स्थानीय बताउँछन् । नक्कली रेम्डिसिभिर बनाउने गिरोहको सार्वजनिकपश्चात् औषधि व्यवसायी संघ मोरङको उपाध्यक्ष देशबन्धु ढकालको अस्वाभाविक दौडधुप चलेको छ ।

प्रहरीले पक्राउ परेका आलम र यादवउपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसुरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साथै यसअघि विराटनगर महानगरपालिका–११ बसपार्कनजिक रातोभाले होटलमा १० ग्राम ब्राउनसुगर बरामद भएको घटनामा समेत यादवको संलग्नता रहेको अनुसन्धानबाट खुल्नआएको प्रहरीले जनाएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया