Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअक्सिजनको अभावमा मृतकको संख्या बढ्यो

अक्सिजनको अभावमा मृतकको संख्या बढ्यो

कोरोनाबाट एकै दिन दुई सय २५ को मृत्यु


काठमाडौं ।
नेपालमा कोभिड–१९ को संक्रमणले थप भयावह अवस्था सिर्जना गरेको छ । खासगरी जनघनत्व बढी भएका जिल्ला तथा सहरमा कोरोना महामारी देशको स्वास्थ्य संरचनाले थेग्नै नसक्ने गरी बढिरहेको छ । कोभिड–१९ को संक्रमण भएका अधिकांश व्यक्तिको शरीरमा अक्सिजनको लेबल एक्कासि घट्ने गरेको छ तर अक्सिजनको हाहाकार छ । कैयौँ बिरामीको अक्सिजनको अभावमा मृत्यु भएको जनाइएको छ ।

सरकारले अक्सिजनको प्रबन्ध गर्ने प्रयास गरे पनि माग बढ्दै गर्दा धान्नसकेको छैन । अक्सिजनको अभाव चर्को भएपछि जनस्वास्थ्यविद्हरुले आमनागरिकलाई घरबाहिर ननिस्किन पटक–पटक आग्रह गरिरहेका छन् ।

सरकार तथा जनस्वास्थ्यविद्हरुले खाद्यान्न तथा तरकारी खरिदका लागि दिनहुँ बाहिर ननिस्किन आग्रह गर्दैै आए पनि सर्वसाधारणले त्यसलाई अटेर गरी बाहिर निस्किँदा काठमाडौंलगायत सहरी क्षेत्रमा भीडभाड बढेको छ । अहिले कोरोना फैलिने क्रम तीव्र भएको कारण भीडले अवस्था थप जटिल बनाउने देखिन्छ ।

कोरोना संक्रमितको संख्या दिनहुँ बढ्नथालेपछि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले पार्टी प्यालेसमा भइरहेका विवाह कार्यक्रम रोक्न निर्देशन दिएको छ । स्थानीय प्रसाशनको निर्णयअनुसार अब विवाहको कार्यक्रम घरबाटै गर्नुपर्नेछ ।

अक्सिजनको अभावमा दिनहुँ विभिन्न अस्पतालहरुमा कोभिड–१९ का बिरामीहरुको धमाधम ज्यान जानथालेका छन् । मंगलबार सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार सङ्क्रमणबाट दुई सय २५ को निधन भएको छ । उक्त निधन भएको सङ्क्रमित सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा मंगलबार निधन हुनेको संख्या त्यति पुगेको हो । मंगलबार निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा सोमबारदेखि मंगलबार दिउँसोसम्मको २४ घण्टाको अवधिमा आठ जना कोरोना सङ्क्रमितको अक्सिजनको अभावमा ज्यान गुमाएका छन् । पर्याप्त अक्सिजन नहुँदा सङ्क्रमितको अवस्था दयनीय रहेको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

ललितपुरको मेडिसिटी अस्पतालले पनि अक्सिजन अभावमा कोभिड–१९ का बिरामी थप असुरक्षित रहेको जनाएको छ । उक्त अस्पतालमा अहिले एक सय २० भन्दा बढी कोरोना र एक सय हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको छ । प्रत्येक दिन चार सय ५० देखि पाँच सय आवश्यक पर्नेमा एक सय सिलिण्डर मात्र अक्सिजन प्राप्त हुने गरेको अस्पतालले जनाएको छ ।

उक्त अस्पतालमा ४० भन्दा बढी भेन्टिलेटरसहित सघन उपचार कक्ष रहेको छ । अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

यस्तै, भक्तपुरको मध्यपुरथिमिस्थित मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोभिड–१९ का बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा. रवीना प्रधानाङ्गले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोभिडका नयाँ बिरामी भर्ना नलिने जनाएकी हुन् ।

कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबारसम्म पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्लाको संख्या ३० पुगेको छ । तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्तापश्चिम), सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र दुई सय ९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं. १ मा एक सय २७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा पाँच सय २९, गण्डकीमा ८२, लुम्बिनीमा एक सय ६०, कर्णालीमा एक सय दुई र सुदूरपश्चिममा २४ जना आईसीयूमा छन् । यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा एक सय ८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूरपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।

यस्तै, मंगलबार देशभरि कोभिड–१९ का नौ हजार चार सय ८३ सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार पाँच सय ९६ पीसीआर र सात सय २० एन्टिजेन परीक्षणमा नौ हजार चार सय ८३ सङ्क्रमित पुष्टि भएको हो ।

मंगलबार देखिएकासँगै नेपालमा चार लाख १३ हजार एक सय ११ सङ्क्रमित छन् । यस्तै सङ्क्रमित निको भई पाँच हजार दुई सय २५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५ दशमलव पाँच प्रतिशत मात्र छ ।

अक्सिजनको माग उत्पादनभन्दा दोब्बर : अक्सिजनको माग बढेपछि उत्पादन पनि बढाइए पनि तत्काल माग धान्न सकिने अवस्था छैन । उत्पादनभन्दा माग दोब्बर भएको कारण माग धान्न धौधौ परेको हो । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. खगराज बरालले अहिले सङ्क्रमितको उपचारका लागि दैनिक १५ हजार सिलिण्डर आवश्यक पर्ने भए पनि सात हजार दुई सय सिलिण्डर उत्पादन भइरहेको बताए ।

नौवटा अक्सिजन प्लान्टले दैनिक उक्त उत्पादन गरेका हुन् । वैकल्पिक विधिबाट अक्सिजन उत्पादन बढाउन सकेमात्र अहिलेको आवश्यकता पूरा गर्न सकिने बताइएको छ । उत्पादन बढाउन सरकारले तुरुन्तै नेपाल आयल निगम र कान्तिपुर अक्सिजन प्लान्ट मर्मत गरेर सञ्चालनको तयारी गरेको छ । प्लान्टमा समस्या भए नेपाली सेनाको टोलीले मर्मतसम्भार गरेर चलाउनेछ ।

उपत्यकामा अभाव कम गर्न पोखरा, चितवन र बाराबाट अक्सिजन ल्याइएको छ । नेपालमा उत्पादन कम भएकोले दातृनिकायबाट तरल अक्सिजन ल्याउने जनाइएको छ । ती तरल अक्सिजन सिलिण्डरमा हालेर वितरण गर्ने तयारी छ । तरल अक्सिजन प्लान्ट तीन सरकारी र तीन निजी अस्पतालमा छ । तीमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा सञ्चालनमा छन् ।

सीसीएमसीले अस्पतालका बिरामीलाई अक्सिजन पु-याउन आवश्यकताका आधारमा न्यूनतम कोटा निर्धारण गरेको छ । अक्सिजन उत्पादनमा समस्या पर्ने भएकोले नियमित विद्युत् आपूर्तिको व्यवस्थापन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिइएको छ ।

नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश : सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न मंगलबार आदेश जारी गरेको हो ।

Open Photo

“थप साधनयुक्त अस्पतालहरू सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू”, आदेशमा भनिएको छ, “अस्पतालहरूमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया