Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअक्सिजनको आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल

अक्सिजनको आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल


काठमाडौं ।
अक्सिजनको अभाव भई कोरोना संक्रमितको ज्यान थालेपछि उपप्रधानमन्त्री ईश्वर पोखरेलले अस्पतालहरूमा अक्सिजन आपूर्ति सहज बनाउन निजी क्षेत्रसँग छलफल गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले मंगलबार उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्स, नेपाल उद्योग परिसंघ, ग्यास उत्पादक, सरकारी तथा निजी क्षेत्रका अस्पतालका प्रतिनिधिहरूसँग प्रधानमन्त्री कार्यालयमा बैठक राखेका थिए । बैठकमा अक्सिजन उद्योगहरूलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, अक्सिजन वितरण प्रणालीलाई कसरी चुस्त बनाउनेलगायतका विषयमा छलफल भएको थियो ।

बैठकले अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योग मन्त्रालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको छ भने अक्सिजन सिलिन्डर वितरण प्रणालीलाई वस्तुपरक बनाउनका लागि बिरामीको संख्या, अक्सिजन चाहिने बिरामी, अक्सिजन उत्पादन गर्ने उद्योगहरू, अस्पतालबीच समन्वय गर्ने निर्णय भएको छ । यसैगरी, छिटो माध्यमबाट अक्सिजन प्लान्ट गर्नका लागि आवश्यक सम्पूर्ण समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ ।

निजी क्षेत्रका ठूला अस्पतालहरूमा आफ्नै अक्सिजन प्लान्ट नहुँदा अहिलेको समस्या आइपरेको हो । काठमाडौँ उपत्यका र काभ्रेमा गरी अहिले नौवटा अक्सिजन उद्योगहरू छन् । १५ हजार लिटरभन्दा बढी माग भए पनि अहिले सात हजार दुई सय लिटर मात्रै उत्पादन क्षमता रहेको छ । निजी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएका कारण अधिकांश निजी अस्पतालहरू यिनै उद्योगमा निर्भर हुनुपर्ने अवस्था छ ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले संकटको अवस्था रहेकाले सबै मिलेर समस्याको समाधान गर्नुपर्ने बताए । ‘महामारीसँग जुध्नका लागि राज्यका तर्फबाट सबै प्रयत्न गरिन्छ, हामी सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उनले भने, ‘संकटको बेला भ्रमको खेतीहरू गर्ने पनि छन्, त्यस्तोबाट सचेत पनि हुनुपर्छ ।’

सीसीएमसीले अक्सिजन ग्यासको विद्यमान समस्या समाधान गर्ने उद्देश्यले विभिन्न प्रयासहरू गरेको छ । काठमाडौँ उपत्यका र बनेपामा रहेका उद्योगहरूहरूको अनुगमन गरी विवरण संकलन तथा समस्या र सम्भावना समेतको समीक्षा गरिएको छ भने सबै उद्योगहरूमा सुरक्षाकर्मी खटाइएको छ । सरकारले अक्सिजन उद्योगको क्षमता वृद्धि र मर्मतकार्यमा सहजीकरण तथा सहयोग समेत गर्नेभएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया