Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले तोकेको कोटाअनुसार पनि अक्सिजन पाउन मुस्किल !

सरकारले तोकेको कोटाअनुसार पनि अक्सिजन पाउन मुस्किल !


काठमाडौं ।
नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोना संक्रमित बिरामीको लागि अक्सिजन चरम अभाव हुँदै गएको बताएको छ । अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको कोटाअनुसारको पनि अक्सिजन पाउन मुस्किल भएको जनाएको हो ।

‘वर्तमान असहज अवस्था भए पनि उपलब्ध सीमित साधन स्रोतको उच्चतम उपयोग गरी बिरामीहरुको उपचार सेवामा कुनै कमी नरहोस् भनी हामी प्रयत्नशील छौँ । तर, पछिल्लो अवस्थामा कोभिडको संक्रमण बढेसँगै अस्पतालमा प्राणवायुको रूपमा रहेको अक्सिजनको अभाव चरम बन्दै गएको छ’, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यको अनुदार नीतिले झन् समस्यालाई बल्झाएको छ ।

तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुनसकेको छैन ।’ यो अवस्था यसैगरी जारी रहने हो भने अकल्पनीय घटना घट्नसक्ने अनुमान सहजै गर्न सकिने अस्पतालको भनाइ छ ।

अक्सिजनलगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको उपचार सेवामा कुनै कमी हुन नदिने पनि अस्पतालले प्रतिबद्धता जनाएको छ । साथै, स्थिति काबुबाहिर नजाओस् भनी प्रयत्नशील रहेको अस्पतालको भनाइ छ । यो समय बाँच्ने र बचाउने समय भएको भन्दै अस्पतालले सरकारका सम्बद्ध निकायहरूका साथै सबै पक्षलाई संवेदनशील भएर कोभिडविरुद्धको लडाइँमा अत्यन्त सुझबुझ र विवेकशील भई आ–आफ्नो दायित्व निर्वाह गरिदिन आग्रह समेत गरेको छ ।

कोभिड १९ को दोस्रो लहरको तीव्र संक्रमणपछि उत्पन्न जटिल परिस्थितिमा सर्वसाधारणलाई सहज उपचार दिने उद्देश्यले नर्भिक इन्टरनेशनल हस्पिटलले आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गरी सेवा प्रदान गर्न सुरु गरेको हो ।

ग्रान्डी अस्पतालमा पनि अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने
काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना संक्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार गराइरहँदा हाल आएर अक्सिजनको चरम अभाव भएपछि नयाँ बिरामी भर्ना लिन समस्या परेको जानकारी दिए ।

‘कोभिड–१९ बिरामीको उपचारमा कटिबद्ध भएर लागेको अवस्थामा नेपाल सरकारको नियमअनुसार दैनिक सय सिलिन्डर अक्सिजन मात्र अस्पताललाई प्राप्त हुँदा चाहेअनुसार थप बिरामी भर्ना गरेर उपचार गर्न असमर्थ छौँ’, उनले भने ।

अक्सिजनको अभावले सेवा प्रवाह गर्न कठिनाइ भएको भन्दै ग्रान्डीले बिरामीसँग क्षमा समेत मागेको छ । अक्सिजनको मात्रा आवश्यकताअनुसार प्राप्त भएसँगै थप बिरामीको भर्ना गरिने महाप्रबन्धक सिंहको भनाइ छ । ग्रान्डी अस्पतालले हाल ७५ भन्दा बढी कोरोना बिरामी तथा सयभन्दा बढी कोरोना नभएका बिरामीले उपचार गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया