Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऋणपत्र निष्काशन बढ्यो

ऋणपत्र निष्काशन बढ्यो


काठमाडौं, माघ २
ऋणपत्र निष्काशन बढेको छ । नेपाल धितोपत्र बोर्डका अनुुसार चालू आर्थिक वर्षको पछिल्लो छ महिनामा बोर्डबाट १६ संगठित संस्थाले २० अर्ब रुपैयाँबराबरको सार्वजनिक निष्काशन अनुमति प्राप्त गरेका छन् । बोर्डले बुुधबार पत्रकार सम्मलेन गरी यो अनुुपात गत आवको सोही अवधिको तुुलनामा २१ दशमलव दुुई प्रतिशतले बढेको जानकारी दिएको हो ।

यसरी सार्वजनिक निष्काशन अनुमतिप्राप्त रकममध्ये १६ अर्ब ५० करोड रुपैयाँ अर्थात् कुल रकमको करिब ८३ प्रतिशत हिस्सा ऋणपत्र निष्काशनले ओगटेको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नुपर्ने व्यवस्था गरेसँगै समीक्षा अवधिमा प्राथमिक बजारमार्फत् ऋणपत्र निष्काशनमा गर्ने क्रम बढेको बोर्डले जनाएको छ । बोर्डका अनुुसार यस अवधिमा प्रारम्भिक सार्वजनिक निष्काशनतर्फ भने गिरावट आएको छ । समीक्षा अवधिमा एक जलविद्युत् कम्पनीले करिब ३३ करोड ५१ लाख रुपैयाँबराबरको निष्काशन अनुमतिप्राप्त गरेकोमा सर्वसाधारणमा केवल सात करोड रुपैयाँ अर्थात् २१ प्रतिशत मात्र बिक्री भएको थियो । अघिल्लो आ.व.को सोही अवधिमा प्रारम्भिक सार्वजनिक निष्काशनतर्फ नौ जलविद्युत् कम्पनी र दुई लघुवित्त गरी कुल ११ संगठित संस्थाले तीन अर्ब ६० करोड रुपैयाँबराबरको निष्काशन अनुमति प्राप्त गरेका र सबै धितोपत्र सर्वसाधारणले खरिद गरेको बोर्डको भनाइ छ ।

बीमा तथा लघुवित्त कम्पनीहरुले हकप्रद सेयर निष्काशनमार्फत पुँजी वृद्धि गरेसँगै समीक्षा अवधिमा हकप्रद निष्काशनमा बढोत्तरी आएकोे छ । यस अवधिमा सात सूचीकृत कम्पनीले दुुई अर्ब दुुई २० करोड रुपैयाँबराबरको हकप्रद निष्काशनका लागि अनुमति पाएका छन् । जुन गत वर्षको सोही समयावधिको तुलनामा करिब ७० प्रतिशतको बढी रहेको बोर्डले जनाएको छ । बोनस सेयर दर्तातर्फ समीक्षा अवधिमा ३७ संगठित संस्थाले ११ अर्ब ६० करोड रुपैयाँबराबरको बोनस सेयर दर्ता गरेको र यो अघिल्लो आवको सोही अवधिको आठ अर्ब ६० करोड बोनस सेयर दर्ताको तुलनामा ३४ दशमलव नौ प्रतिशतको वृद्धि हो । बोनस सेयर निष्काशन गर्ने सूचीकृत संगठित संस्थातर्फ बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको बाहुल्य रहेको पनि बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुुसार चालू आवको प्रथम छ महिनामा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या दुुई सय १२ पुगेको छ भने सूचीकृत धितोपत्रको आपूर्तिमा पनि करिब २१ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा कुल ३२ अर्ब ५१ करोड रुपैयाँबराबरको धितोपत्रको कारोबार भएको छ । बोर्डका अनुसार यो गत वर्षको सोही अवधिको तुलनामा दुुई दशमलव आठ प्रतिशतले कम हो । यस अवधिमा १ सय दिन कारोबार हुँदा औसत दैनिक कारोबार रकम ३२ करोड ५० लाख रुपैयाँमा सीमित रहेको छ ।

बोर्डका अनुसार चालू आवको पुस मसान्तमा धितोपत्र बजारको कुल बजार पुँजीकरणमा वृद्धि भएको छ । यस अवधिमा उक्त पुँजीकरण १६ खर्ब १० अर्ब रहेको छ । यस्तै फ्लोट बजार पुँजीकरणमा पनि वृद्धि आएको छ । यस अवधिमा उक्त फ्लोट बजार पुँजीकरण पाँच खर्ब ३४ अर्ब रहेको छ । २०७६ पुस मसान्तमा नेप्से सूचकांकमा एक दशमलव छ प्रतिशतको वृद्धि आई उक्त सूचकांक १२ सय ६३ दशमलव ३८ विन्दु कायम भएको छ । नेप्से फ्लोट सूचकांकमा पनि दुई दशमलव नौ प्रतिशतको वृद्धि आई ८९ दशमलव ३५ विन्दु कायम भएको छ । गत आवको पुस मसान्तमा दुवै सूचकांक क्रमशः ११ सय ५४ दशमलव १२ र ८५ दशमलव ९८ विन्दु कायम भएको थियो । बोर्डका अनुसार धितोपत्रबजारमा डिम्याट खाताको संख्यामा पनि क्रमशः वृद्धि हुँदै गएको छ । यस अवधिमा डिम्याट खाताको संख्या १६ लाख सात हजार छ सय पाँच पुगिसकेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया