Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिंगापुरबाट आएको १३ टन कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

सिंगापुरबाट आएको १३ टन कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण


काठमाडौं ।
देशमा फैलिएको कोभिड–१९ महामारीसँग लड्नका लागि सिंगापुरबाट आएको १३ टनभन्दा बढी स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिएको छ । उक्त मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान शनिबार सिंगापुरबाट काठमाडौँ आइपुगेको थियो । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोगहरू र नेपाली प्रवासीसँग घनिष्ठ सहकार्यद्वारा गरिएको सहयोगबाट यो सम्भव भएको हो । करिब तीन मिलियन सिंगापुर डलर (करिब २५ करोड नेपाली रूपैयाँ)को संयुक्त अनुमानित मूल्यको कार्गो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई दुई दाताहरूका तर्फबाट गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले एक संक्षिप्त समारोहमा हस्तान्तरण गरेका हुन् । यसमा एक लाख २३ हजारभन्दा बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीद्वारा डिजाइन गरिएको छ, (ए स्टार), पाँच हजार बाकस सिटोटेस्ट स्वाब कीट (२ लाख ५० हजार कीट), २ मेगेक ३२ आएनए निकासी मेसिनहरू, दुई हजार पाँच सय निकासी कीट र रिजेन्ट्स, ३० अल्फा टेली–भेन्टिलेटर, ६ फिलिप्स ट्रिलोजी इभो भेन्टिलेटर, ५० युवेल वि–पाप, नन्–इन्भेसिभ भेन्टिलेटरहरू र चार हजार पल्स अक्सीमीटरहरू समावेश छन् । यसका साथै थप मेडिकल आपूर्तिको दोस्रो कार्गो आगामी केही हप्तामा सिंगापुरबाट नेपाल आउने बताइएको छ ।

तामासेक फाउन्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले एक वक्तव्यमा भनेका छन्, ‘कोभिड–१९ को विभिन्न भेरिएन्टहरूबाट भर्खरै देखिएका अवस्थाहरूबाट यो कुरा प्रस्ट भएको छ कि हामीले जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन निरन्तर सँगै मिलेर काम गरिरहनु आवश्यक छ । तामासेक फाउन्डेसन महामारीको विरूद्ध विश्वव्यापी युद्ध लड्न नेपालका हाम्रा मित्र र छिमेकीहरूसँग एकसाथ रहेको छ ।’

सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । यसैगरी २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरूमा सहयोग गरेको थियो ।

मन्त्री त्रिपाठीले अहिलेको कठिन घडीमा सिंगापुरको तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा बु्रअरीबाट प्राप्त यो सहयोग प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरूलाई वितरण गरिने बताए । कोभिड–१९ को महामारी अझै बढ्दै गएको यस स्थितिमा गोर्खा बु्रअरीबाट आउँदो दिनहरूमा पनि यस्तै सहयोगको आशा गरिएको उनले बताए ।

उक्त सामानहरू हस्तान्तरण गर्ने क्रममा गोर्खा बु्रअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले यस्तो महामारीको अवस्थामा कोभिड–१९ नियन्त्रण तथा उपचारको लागि तत्काल प्रयोगमा आउने सामग्रीहरू सरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । सरकारबाट उक्त सामग्रीहरू प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरूलाई अविलम्ब वितरण गरी कोभिड उपचारमा सकारात्मक योगदान गर्ने विश्वास पनि व्यक्त गरे ।

गोर्खा बु्रअरीले यसअघि पनि विभिन्न विषम परिस्थितिमा नेपाल सरकार तथा अन्य विभिन्न क्षेत्रहरूमा निरन्तररूपमा विभिन्न सहयोग गर्दै आएको छ । २०७२ को भूकम्पमा पनि यस कम्पनीबाट नेपाल सरकारलाई १० करोड नेपाली रूपैयाँ सहयोग स्वरूप प्रदान गरिएको थियो । लोटस लाइफ फाउन्डेसन सिंगापुरले तामासेक फाउन्डेसन र नेपाल सरकारलाई यस महत्वपूर्ण मानवीय अभियानमा सहकार्य गरेकोमा धन्यवादज्ञापन गर्नुका साथै यस उपकरणले फ्रन्टलाइन स्वास्थ्यसेवाकर्मीहरूलाई महामारीलाई नियन्त्रण गर्न मदत पु-याउँछ भन्ने आशा गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया