Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ अर्ब रुपैयाँको विकास ऋणपत्र आज, आगामी असार मसान्तसम्म दुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण

१५ अर्ब रुपैयाँको विकास ऋणपत्र आज, आगामी असार मसान्तसम्म दुई खर्ब २५ अर्ब रुपैयाँको आन्तरिक ऋण


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज मंगलबार पाँच वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न तीन बजेसम्ममा बोलकवोलको माध्यमद्वारा विकास ऋणपत्र २०८३ ‘घ’ (पाँच वर्षे) बिक्री गर्न लागिएको हो ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, राष्ट्र ऋण व्यवस्थापन विभागद्वारा निष्काशन गरिने ऋणपत्रको जारी मिति जेठ १३ गते बिहीबार तोकिएको छ भने ऋणपत्रको परिपक्व हुुने अर्थात् सावाँ भुक्तानी हुने अवधि २०८३ जेठ १३ गते नै तोकिएको छ । राष्ट्र बैंकका अनुसार इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्नेछन् । छुट्याइएको रकममध्ये प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड रुपैयाँ रहेको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

खरिद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाकोरुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउनेछैनन् । ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमार्फत हुनेछ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । सोअनुसार चालू आवको प्रथम चौमासिकमा ५७ अर्ब, दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी राष्ट्र बैंकले गरेको छ । सोहीअनुरुप आज मंगलबार १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र जारी गर्नलागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा बैंकहरुले आलोपालो गरी सेवा दिनुपर्ने : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा कायम रहेसम्म बैंक तथा फाइनान्स कम्पनीहरुले आलोपालो गरी वित्तीय सेवा सञ्चालन गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंक, १८ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनी समेतको नाउँमा सूचना जारी गर्दै आलोपालो गरी सेवा प्रवाह गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ को संक्रमण जोखिम न्यूनीकरण गर्दै उच्च सतर्कताका साथ सेवा प्रवाह गर्ने सम्बन्धमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुुवित्त संस्थाहरुलाई यही वैशाख १९ गते जारी गरिएको निर्देशनको बुुँदा नम्बर २ को सम्बन्धमा काठमाडौं उपत्यकाको हकमा निषेधाज्ञा अवधिभर आलोपालो गरी शाखा खोल्नुपर्नेछ ।

यो व्यवस्थाअनुसार वाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा तीनवटा, ललितपुर जिल्लामा दुईवटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी खोल्नुपर्नेछ भने विकास बैंकहरुले काठमाडौं जिल्लामा दुईवटा, ललितपुर जिल्लामा एक वटा र भक्तपुर जिल्लामा एक वटा शाखा आलोपालो गरी खोल्नुपर्नेछ । यसैगरी फाइनान्सहरुले भने काठमाडौं जिल्लमा एउटा, ललितपुर जिल्लामा एउटा र भक्तपुर जिल्लामा एउटा शाखा आलोपालो गरी सञ्चालन गर्नुपर्नेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया