Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५० लाख खोप खरिद गर्दै सरकार

५० लाख खोप खरिद गर्दै सरकार

कोरोनाबाट मृत्यु हुने साढे छ हजार बढी


काठमाडौं ।
खोप खरिद गर्न नसकेको भनेर चौतर्फी आलोचना भइरहेको बेला सरकारले कोरोना संक्रमण हुनबाट बचाउने थप ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार अमेरिका, रुस, बेलायत, चीन र भारतलगायत खोप उत्पादक मुलुकसँग खोप ल्याउन औपचारिक पत्र पठाइएको छ । पाँच मुलुकका स्वास्थ्यमन्त्रीलाई सम्बोधन गर्दै करिब ५० लाख खोप खरिद गर्न सरकार इच्छुक भएको जानकारी दिइएको छ ।

ती मुलुकमध्ये केहीले पत्रको जवाफ दिएका र केहीले दिन बाँकी रहेको छ । ‘खोप उत्पादक देशसँग व्यक्तिगत, राजनीतिक र कूटनीतिक पहल भइरहेको छ’, उनले भने, ‘यसैले खोप चाँडै आउँछ ।’ मन्त्री त्रिपाठीका अनुसार अन्तर्राष्ट्रिय बजारमा खोप नभएकोले आउन ढिलाइ भएको हो ।

मन्त्री त्रिपाठीले युरोपियन युनियनसँंग मौज्दात रहेको खोप ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी दिए । अहिले भारत सरकारले १० लाख मात्रा कोभिशिल्ड, चीन सरकारले आठ लाख मात्रा भेरोसेल र कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार कोभिशिल्ड अनुदानमा र १० लाख कोभिशिल्ड खोप खरिद गरेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म २६ लाख ६५ हजार नौ सय ८७ ले पहिलो मात्रा र पाँच लाख ५३ हजार पाँच सय ८९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मन्त्री त्रिपाठीले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले भौतिक पूर्वाधार पनि उल्लेखनीय रुपमा जोडिएको जानकारी दिए । उनका अनुसार भेन्टिलेटर पाँच सय ७७ थप गरिएको र एक सय चारवटा थप्ने क्रममा रहेको छ ।

यस्तै सघन उपचार कक्ष (आईसीयू) चार सय थप गरी तीन हजार पु-याइएको र छ सय ३० थप्ने योजना रहेको छ । हाई डिपेन्डेन्सी युनिट (एचडीयू) दुई हजार दुई सय ७५ सरकारी र निजी अस्पतालमा सात सय ७८ थपिएको तथा चार सय थप गर्ने योजना रहेको छ । मन्त्री त्रिपाठीले विज्ञले स्वास्थ्य सङ्कटकाल लगाउनेबारे दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि देशभरका एक सय ५७ अस्पताललाई सूचीकृत गरी उपचार गरिरहेको छ । तीमध्ये ४५ वटा निजी अस्पतालबाट कोभिड–१९ संक्रमित बिरामीको निःशुल्क उपचार गरिरहेको छ । मन्त्री त्रिपाठीले गत वैशाखमा मात्रै कोभिड–१९ बिरामीको निःशुल्क उपचार गरेबापत ४५ करोड रुपैयाँ अस्पतालहरुलाई शोधभर्ना गरेको जानकारी दिए ।

यस्तै, नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या छ हजार पाँच सय ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै कोभिड–१९ बाट एक सय ८५ जनाको मृत्यु भएको थियो । विगत केही दिनदेखि नेपालमा झण्डै दुई सयको हाराहारीमा कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ ।

नेपालमा अक्सिजनको अभावमा कोरोनाका बिरामीहरुले पछिल्लो समयमा ज्यान गुमाउँदै आएका छन् । सरकारले अक्सिजनको व्यवस्थालाई सहज बनाउँदै लगे पनि कतिपय कोरोना संक्रमित व्यक्तिहरु घरमा बस्दा अन्तिम समयमा मात्रै अस्पताल आउने गर्दा उपचारले नधानेर मृत्यु भइरहेका छन् ।

अघिल्लो वर्ष लकडाउनमा कडाइ गरिएको कारण गाउँ–गाउँमा संक्रमण पुगेको थिएन । यस वर्ष भने निषेधाज्ञामा लचकता अपनाउँदा गाउँ–गाउँमा कोरोनाको महामारी नै फैलिएको छ । पछिल्लो समयमा ग्रामीण भेगबाट अस्पताल आउनेको संख्या बढेको छ ।

सोमबारसम्म नेपालमा एक लाख १५ हजार चार सय ४७ जना कोरोनाका सक्रिय संक्रमित छन् । सोमबार पनि नेपालमा सात हजार चार सय २५ जनामा कोरोना संक्रमण भएको थियो भने सात हजार एक सय ३५ जना निको भएर घर फर्किएका थिए । नेपालमा कुल संक्रमित पाँच लाख २० हजार चार सय ६१ जनामध्ये महिला दुई लाख एक हजार दुई सय ३५ जना र पुरुष तीन लाख १९ हजार दुई सय २९ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्यामा सामान्य कमी आएको छ । सोमबारसम्म काठमाडौंमा १६ हजार सात सय ४७ जना, ललितपुरमा सात हजार एक सय ५६ जना र भक्तपुरमा चार हजार आठ सय ८० जना सक्रिय संक्रमित छन् । काठमाडौंमा एक हजार चार सय ७१ जना, ललितपुरमा तीन सय ८९ जना र भक्तपुरमा दुई सय ८७ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

नेपालमा सोमबारसम्म एक हजार छ सय ९७ जना कोरोनाका बिरामीहरु आईसीयुमा र चार सय ६७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीहरुलाई अन्य ठाउँमा रहेका बिरामीभन्दा केही जोखिमपूर्ण स्वास्थ्य अवस्था रहेका बिरामी मानिन्छ । तर, पछिल्लो समयमा घरमै बसेकाहरु पनि धमाधम कोरोनाको कारणले मृत्यु हुन थालेपछि ग्रामीण भेगमा अझै धेरै जोखिमपूर्ण बिरामीहरु रहेको अनुमान गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया