Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा प्रहरी अस्पतालको सक्रियता

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा प्रहरी अस्पतालको सक्रियता


काठमाडौं ।
कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा नेपाल प्रहरी अस्पताल सक्रिय रहेको छ । कोभिड–१९ बाट संक्रमितको उपचारलाई थप प्रभावकारी बनाउन आवश्यक नीति निर्माण, साधनस्रोत तथा जनशक्तिको व्यवस्थापन, थप बेड तथा आकस्मिक उपचारको व्यवस्था गरी अस्पतालले सक्रियता बढाएको हो ।

हालसम्म तीन हजार एक सय ४१ जना कोभिड सङक्रमित बिरामीहरूले प्रहरी अस्पतालमा निःशुल्क उपचार सेवा लिई डिस्चार्ज भएका छन् । सेवा लिएकामध्ये ९२ प्रतिशत प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवारले सेवा प्राप्त गरेका छन् । उपचारको क्रममा ७३ जनाको निधन भएको छ । अस्पतालले हालसम्म १७ हजार तीन सय ६४ जनाको निःशुल्क पीसीआर परीक्षण गरेको छ ।

परीक्षण गरिएकामध्ये चार हजार तीन सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । हाल अस्पतालमा कोभिडबाट संक्रमित एक सय ८७ जनाको भर्ना लिई निःशुल्क उपचार भइरहेको छ । उपचाररतमध्ये ३० जना आईसीयूमा, ८० जना एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा र ७७ जना सामान्य अवस्थाका रहेका छन् । उपचाररतमध्ये प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी र प्रहरी कर्मचारीका परिवार गरी एक सय ३३ जना तथा ५४ जना सर्वसाधारण नागरिक रहेका छन् ।

अस्पतालको साथै महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, महानगरीय प्रहरी पहरा गण सामाखुशी र विपत् व्यवस्थापन महाशाखा सामाखुशीमा समेत आइसोलेसनमा राखी उपचारको व्यवस्था गरिएको छ । प्रहरी अस्पतालमा साबिक एक सय ५० बेड रहेका थिए । अस्पताललाई लेवल–२ मा स्तरोन्नति गरिएपछि एक सय ५० बेड थप गरी जम्मा तीन सय बेड उपलब्ध छन् । तीमध्ये दुई सय ६४ कोभिड र ३६ नन कोभिड बिरामीको लागि प्रयोग भएको छ ।

कोभिडतर्फको दुई सय ६४ मध्ये एक सय ५४ साधारण, ८० एचडीयू (हाइ डिपेन्डेन्सी युनिट) र भेन्टिलेटरसहितका २० तथा भेन्टिलेटरबाहेकका १० गरी ३० आईसीयू बेड रहेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहमनका अनुसार अस्पतालमा फिभर क्लिनिक स्थापनाको साथै कोभिड–१९ र ननकोभिड बिरामी छुट्याई बिरामीको अवस्थाअनुसार इमरजेन्सी सेवा, डायलायसिस, शल्यक्रिया आदिको समेत व्यवस्था मिलाई प्रत्यक्षरूपमा विशेषज्ञ चिकित्सकबाट सेवा उपलब्ध गराइएको छ ।

प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरका अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र समन्वयका लागि आवश्यक पर्ने जनशक्ति, एम्बुलेन्स, सवारी साधनलगायतका स्रोतसाधनको सम्पूर्ण सहयोग प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको छ ।

अक्सिजन नियमित आपूर्तिका लागि प्रहरी प्रधान कार्यालयबाट अक्सिजन उद्योगमा चारवटा गाडी क्यूमा राखी आपूर्ति गर्ने गरिएको छ । हाल समग्र व्यवस्थापन, बिरामीमैत्री वातावरण, गुनासो सम्बोधन समेतका लागि प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षक समेत ३० जना र सरसफाई समेतका पाँच जना गरी ३५ जना जनशक्ति थप गरी परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले जानकारी दिए ।

कोभिड–१९ को कारणले एक स्थानबाट अर्को स्थानमा सहजरूपमा आवतजावत गर्न र स्वास्थ्य उपचार गर्नबाट वञ्चित भएका दूरदराजमा रहेका बिरामीहरूलाई यस अस्पतालका विशेषज्ञ चिकित्सकहरूबाट स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यले ‘टेलिमेडिसिन सेवा’ थालनी, यूएनओपीएसबाट सहयोग प्राप्त भएको प्रतिसिलिन्डर ४६ लिटरका एक सय ४० वटा सिलिन्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पीएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम सञ्चालन गरिएको छ ।

उपचाररतलाई रेम्डिसिभिरलगायतका औषधि तथा औषधिजन्य सामानहरूसहित खाना तथा खाजाको व्यवस्था गरी सम्पूर्ण सेवाहरू निःशुल्क उपलब्ध गराउने गरिएको र थप उपचारको लागि आवश्यक पर्ने प्लाजमा थेरापी सेवा उपलब्ध गराइएको प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन् ।

सरकारको निर्देशनबमोजिम प्रहरी अस्पतालमा खोप केन्द्र स्थापना गरी कोभिड १९ विरुद्ध खोप अभियानअन्तर्गत २६ हजार तीन सय ५९ जनालाई पहिलो खोप र पाँच हजार नौ सय चार जनालाई दोस्रो खोप प्रदान गरिएको छ । स्थानको अभावलाई सम्बोधन गर्न निर्माणाधीन इमरजेन्सी भवनमा समेत बिरामी बेडको व्यवस्था मिलाई अक्सिजन सिलिन्डरको मदतद्वारा उपचार सेवा दिनुको साथै सबै बिरामीका आफन्तहरूलाई जानकारी गराउनका लागि अस्पतालले हेल्प डेस्क स्थापना गरी सेवा दिइरहेको छ ।

अस्पतालको चाप र सेवा प्रवाहलाई थप प्रभावकारी व्यवस्थापनका लागि ५० जना नर्स नयाँ भर्ना गरिएको छ । आईसीयूमा भर्ना भएका बिरामीहरूलाई प्रत्येक दिन २ बजेदेखि साढे २ बजेसम्म काउन्सिलिङ गर्ने गरिएको, १८ जना विशेषज्ञसहितका चिकित्सकको डेडिकेटेड समूह बनाई प्रत्येक ५/५ दिनको रोटेसनमा परिचालन गरिएको छ ।

अन्य विशेषज्ञ चिकित्सकलाई समेत परिस्थितिअनुसार अनकल ड्यूटीमा राखिएको छ । कोरोना संक्रमित बिरामीहरूको उपचारमा सहकार्य र सहजीकरण गर्ने सिलसिलामा अत्यावश्यक परेको समयमा अस्पतालमा मौज्दात रहेको अक्सिजन सिलिन्डरमध्ये नेपाली सेनालाई २० वटा र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई १० वटा उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया