Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा वार्षिक नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री खुल्ला

राष्ट्र बैंकद्वारा वार्षिक नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री खुल्ला


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वार्षिक नौ प्रतिशत ब्याजमा दुई अर्ब रुपैयाँको नागरिक बचतपत्रको बिक्री खुल्ला गरेको छ । चालू आर्थिक वर्षभित्रमा दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने योजना अघि सारेको राष्ट्र बैंकले सोही योजनाअनुसार यही जेठ १० गते मंगलबारबाट पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८३ (पाँच वर्षे) को बिक्री खुल्ला गरेको हो ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिदको अन्तिम समयसीमा आगामी असार १ गतेसम्म रहेको छ । निष्काशन मिति आगामी असार ६ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८३ असार ६ गते तोकिएको राष्ट्र बैंकले जनाएको छ । आर्जित ब्याजमा ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुनेछ ।

बचतपत्र खरिद गर्नको लागि योग्यता पुगेका सबै नेपाली नागरिकहरुले आवेदन दिनसक्ने जानकारी पनि राष्ट्र बैंकले दिएको छ । खरिद सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्ममा सीमा तोकिएको यो बचतपत्र धितो राखेर राष्ट्र बैंकबाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण समेत निकाल्न सकिनेछ ।

कुल आन्तरिक ऋणको लक्ष्यअनुसार राष्ट्र बैंकले चालू आवको पहिलो त्रैमासिकमा ५७ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको छ भने चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइसकेको छ । यसैगरी चालू आवको तेस्रो चौमासिकमा पनि एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राष्ट्र बैंकले लिएको छ । सोही लक्ष्यबमोजिम नै नागरिक बचतपत्रको विक्ती खुल्ला गर्न लागेको जानकारी राष्ट्र बैंकले दिएको छ।

चालू आवको दोस्रो चौमासिकमा उठाइने ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र विक्ती गरेको थियो ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्नेछ ।

लघुवित्त संस्थाहरुले निषेधाज्ञाको अवधिमा कुनै ग्राहकको धितो लिलाम गर्न नपाउने : लघुवित्त वित्तीय संस्थाहरुले निषेधाज्ञाको अवधिमा कुुनै ग्राहकको धितो लिलाम गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

‘घ’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन, परिमार्जन तथा थप व्यवस्था सम्बन्धमा संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

निर्देशनअनुसार कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिको लागि विशेष व्यवस्थाअनुसार निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाइनेछैन । यसैगरी संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार उक्त अवधिमा सञ्चालक समितिले यस्तो छुटसम्बन्धी व्यवस्थाको निर्णय गरी वेबसाइटमा सार्वजनिक गरी पारदर्शी ढंगले लागू गर्नुपर्नेछ । यसैगरी ब्याजदरमा शून्य दशमलव पाँच प्रतिशत विन्दुसम्म बढाउन सक्नेछन् भने कर्जाको ब्याजदरको हकमा प्रकाशित ब्याजदरभन्दा बढी दर कायम गर्न पाइनेछैन । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, ब्याज र हर्जना ब्याजबाहेक कर्जासँग सम्बन्धित अन्य कुनै पनि रकम लिन पाइनेछैन ।

‘तर, संस्थाले आफ्ना ग्राहकहरुका लागि कर्जा सूचना केन्द्र लिमिटेड जस्ता अन्य संस्था, निकायमार्फत सेवा लिने सन्दर्भमा सो सेवाबापत त्यस्ता संस्था, निकायहरुलाई भुक्तानी गर्नुपर्ने लागतसम्म मात्र सेवा शुल्क असुल गर्न भने यो व्यवस्थाले बाधा पारेको मानिनेछैन’, परिपत्रमा भनिएको छ, ‘तर, कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको सात दिनसम्म संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन पाइनेछैन ।’

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया