Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाविरुद्धको खोप ल्याउने बाटो खुल्यो

कोरोनाविरुद्धको खोप ल्याउने बाटो खुल्यो


काठमाडौं ।
प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको निर्देशनको कारण खोप खरिद गरेर ल्याउन बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका साथै विभिन्न स्थानीय तहहरुले पनि कोभिडविरुद्धको खोप खरिदका लागि चासो दिएका छन् । तर, संघ सरकारले नै खोप खरिद गरेर ल्याउनेछ । जसले दिन्छ खोप उसैलाई भोट भन्ने नारा सामाजिक सञ्जालमा छाइरहेको बेला सरकारले सोझै खोप खरिद गरेर ल्याउन अध्यादेश पनि जारी गरिसकेको छ ।

कोभिड रोकथामसम्बन्धी अध्यादेश जारीपछिको समितिको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘खोप ल्याउन सकियो भने कोभिडविरुद्धको लडाइँ जितिन्छ । अन्यथा लडाइँ गरिरहनुपर्ने भयो ।

कोभिड १९ विरुद्धको लडाइँ जित्न उपलब्ध स्वास्थ्य सेवालाई चुस्त दुरुस्त बनाउँदै खोपको समुचित व्यवस्था गर्नेतर्फ ध्यान केन्द्रित गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको बैठकपछि प्रधानमन्त्रीका सचिवालयले जारी गरेको प्रेस नोटमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले जनताको जीवन बचाउने सरकारको प्राथमिकता भएकाले उपचारमा कुनै किसिमको ढिलाइ गर्ने छुट कसैलाई नभएको समेत बताएको प्रेस नोटमा जनाइएको छ । प्रधानमन्त्रीले केन्द्रबाट संक्रमणको सम्पूर्ण तथ्य तथ्याङ्क हासिल गरी उपचार सेवाको अवस्था, चिकित्साकर्मी र स्वास्थ्य उपकरणको उपलब्धताबारे अद्यावधिक जानकारी लिने र कमी भएका स्थानमा आपूर्ति गर्नका लागि संयोजन हुनुपर्ने बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया