Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसार्वजनिक र निजी दुवै विकास निर्माण एक साताको लागि बन्द

सार्वजनिक र निजी दुवै विकास निर्माण एक साताको लागि बन्द


काठमाडौं ।
सरकारले काठमाडौं उपत्यकामा १४ गते शुक्रबार बिहान १ बजेदेखि एक साताका लागि काठमाडौं उपत्यकाभित्र सार्वजनिक र निजी दुवै विकास निर्माण बन्द गर्ने भएको छ । निषेधाज्ञा जारी रहे पनि अहिले सडक, भवन तथा निजी घर निर्माण कार्य रोकिएको छैन । निर्माण क्षेत्र बन्द नहुँदा मजदुरहरुले यस वर्ष राहत महसुस गरिरहेका छन् । तर, निर्माण क्षेत्र बन्द गर्दा भने अब दैनिक काम गरेर गुजारा चलाउन पर्नेहरु बढी मारमा पर्नेछन् ।

काठमाडौं उपत्यकामा नयाँ भेरिएन्टको कोभिड–१९ को महामारी संक्रमण तीव्र बढिरहेको भन्दै उक्त संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले सो निर्णय गरेको हो । उक्त निर्णय जेठ २० गते बिहीबार राति १२ बजेसम्मका लागि लागू हुनेछ ।

मंगलबार काठमाडौं उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले विकास निर्माण मात्र नभई खाद्यान्न पसल पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । पसल बन्द गर्दा आवतजावत र भीडभाड बन्द हुने सरकारी अनुमान छ ।

त्यस्तै, बैंकका सवारीसाधन सञ्चालनमा पनि प्रशासनले कडाइ गरेको छ । काठमाडौं जिल्लामा वाणिज्य बैंकको हकमा प्रधान कार्यालय र तीनवटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र दुईवटा शाखा कार्यालय आलोपालो गरी न्यूनतम जनशक्ति २० प्रतिशत मात्र प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । त्यसको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्नेछ । त्यसको अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने जनाइएको छ ।

त्यस्तै, बैंकका सवारीसाधन सञ्चालनको हकमा बढीमा दुईवटा सवारी पास जारी गरी त्यसको विवरण राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्नेछ । तर, अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरुको हकमा हवाइ टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारीसाधनको हकमा प्रशासनले सहजीकरण गरेर जाने आउने व्यवस्था गर्नेछ ।

कोभिड ­१९ संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेदेखि लागू हुनेछ ।
१४ गतेदेखिको निषेधाज्ञामा अत्यावश्यक तरकारी, फलफूल, दूध, डेरी, मासु, खानेपानी र ग्यास खरिदबिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि बिहान १० बजेसम्म खुला गरिएको थियो । तर, किराना पसलबाहेक डिपार्टमेन्टल स्टोर्सलगायत अन्य पसल सञ्चालनमा पनि यस पटकको निषेधाज्ञामा रोक लगाइएको छ ।

विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौँ उपत्यका तथा तराईमा पाँच सय सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको छ ।

सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइनेछैन । औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन पाउनेछैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्नेछ ।

अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटक–पटक साबुनपानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्नेछ । सार्वजनिक एवं निजी सवारीसाधन पनि सञ्चालन गर्न पाइनेछैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा बढीमा दुई जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन मात्रै सञ्चालन हुनेछ ।

अत्यावश्यक सेवाजस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन सरसफाइमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइनेछ ।

तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन, खाना पकाउने ग्यास, दूरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा पनि ब्यानर राखेर राति ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइनेछ । तोकिएको तरकारी बजारबाहेकका क्षेत्रमा बिक्री बन्द गर्ने र थोक बजारमा फुटकर बिक्री गर्न नदिइने आदेशमा भनिएको छ ।

अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था/संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारीसाधन बिहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

विवाह, व्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा सात जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजाबाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ ।

मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भई जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्नेछ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाइनेछ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल निर्बाध रुपमा सञ्चालन गर्न पाइनेछ ।

आठ हजार छ सय ३६ सङ्क्रमित थपिए : मंगलबार थप आठ हजार छ सय ३६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २२ हजार तीन सय छ पीसीआर र छ सय ३० एन्टिजिन परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको छ । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङख्या एक लाख १७ हजार दुई सय ६१ पुगेको छ । मंगलबार छ हजार चार सय चार जना सङ्क्रमण मुक्त भएका छन् । निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ । सङ्क्रमणबाट मंगलबार एक सय ६९ को मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या छ हजार ७० पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया