Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविराटनगर भन्सारले राजस्वको लक्ष्य भेट्न सकेन

विराटनगर भन्सारले राजस्वको लक्ष्य भेट्न सकेन


विराटनगर ।
प्रदेश १ बाट राजस्व संकलनको मुख्य जिम्मेवारी पाएको विराटनगर भन्सार कार्यालयले १८ महिनायता कुनै महिना पनि लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएदेखि नै संघीय सरकारले संकलन गर्ने राजस्वमा समेत वृद्धि नभएको पाइएको छ । सरकार आफैंले बजेटमा अनुमान गरेको लक्ष्य त झनै भेटिएकै छैन । गएको वर्ष कोरोनाको प्रभावलाई देखाएर राजस्व वृद्धिको प्रश्नबाट उम्किएको भन्सार कार्यालय यस पटक पनि सोही कारण देखाएर आफ्नो दायित्वबाट उम्कने प्रयास गर्न थालेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिव भण्डारीले पछिल्लो १८ महिनामा केन्द्रीय सरकारले दिएको लक्ष्यअनुसार राजस्व उठाउनका लागि कुनै पनि पहल नगरेको आरोप लाग्न थालेको छ । जसको कारण विराटनगर भन्सारको बागडोर सम्हालेका प्रमुख भन्सार अधिकृत शिव भण्डारी अक्षम बन्नपुगेको भन्सार कर्मचारीस्रोतले बताएको छ ।

भन्सार प्रमुख भण्डारीले २०७५/७६ मा समेत राजस्व संकलनका नाममा मुद्दा फछ्र्यौटदेखि बेरुजुबाट संकलन भएको रकमलाई राजस्व खातामा जम्मा गरेर नयाँ राजस्वमा गणना गरेको रहस्य बाहिरिएपछि कार्यालय प्रमुख भण्डारीको कार्यशैली नै विवादित बन्नपुगेको थियो । चालू आवमा समेत प्रमुख भण्डारीले पुनः मुद्दा फछ्र्यौट र बेरुजुकै कारण राजस्व संकलनलाई वृद्धि देखाउने प्रयास गर्न थालेपछि उनको कार्यशैलीमाथि नै गम्भीर प्रश्न आएको भन्सार कर्मचारीहरूले खोल्न थालेका छन् ।

कोभिड १९ को महामारीका कारण राजस्व न्यून संकलन भएको भनिए पनि भन्सार राजस्व वृद्धिको आधारमा भने खासै फरक नभएको बताइएको छ । यो वर्ष पनि कोरोना महामारीका कारण वैशाख दोस्रो सातादेखि मोरङ जिल्लाका अधिकांश भागमा निषेधाज्ञा लागू भएको छ । यसले राजस्व संकलनमा खासै असर नपर्ने सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीको दाबी रहेको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोर औद्योगिक क्षेत्र भएका कारण विराटनगर भन्सार परिसरबाट आयात हुने औद्योगिक कच्चापदार्थको आयातमा कुनै कमी नआएको बताइएको छ । तर विराटनगर भन्सारले महामारीको बहाना बनाएर राजस्व संकलनमा कमी आएको भन्ने टिप्पणी हास्यास्पद मात्र भएको बताउन थालिएको छ । विराटनगर भन्सारले पछिल्लो समय अपनाएको कार्यशैलीका कारण धेरै व्यवसायीहरूले भन्सार नाका नै परिवर्तन गरी अन्य भन्सार नाकाबाट सामान आयात गर्ने क्रम पछिल्लो समय धेरै बढेको कुरा उद्योगी तथा व्यवसायीको भनाइ रहेको छ ।

भन्सार कर्मचारीमा देखिएको पदलोलुप्ता र व्यक्तिगत मनोकांक्षाका कारण दैनिकरूपमा विराटनगर भन्सारको राजस्व संकलनमा प्रभाव परेको हुनसक्ने बताइएको छ । सो कार्य बन्द गर्नका लागि कार्यालय प्रमुख भण्डारीले कार्यक्षमता प्रदर्शन गर्न नसक्दा भन्सारमा बढ्दै गएको मनोमानीका कारण पछिल्लो समय विराटनगर भन्सार नै विवादित बन्नपुगेको छ ।

केही समयअगाडि विराटनगर भन्सारका भन्सार अधिकृतदेखि भन्सार एजेन्ट समेतको सेटिङमा भन्सार जाँचपास भएका घटना सार्वजनिक भएपछि नै विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारी विवादित बन्नपुगेका छन । देखावटी रूपमा केही भन्सार एजेन्टलाई कारबाही गरेको देखाएर भन्सार जाँचपासमा संलग्न भन्सार अधिकृतलाई उन्मुक्ति दिएका कारण पछिल्लो समय विराटनगर भन्सार कमाउको अखडा भएको कुरा प्रमाणित नै भएको कुरा जानकारहरूले बताएका छन् ।

केही समय पहिले मात्र मोरङ प्रहरीले प्रज्ञापनपत्रमा उल्लेख गरिएको भन्दा बढी सामान आयात गरेको फेला पारेर कारबाहीका लागि राजस्व अनुसन्धानमा बुझाएको घटनामा संलग्न भन्सार अधिकृतलाई कारबाही नगरी छोडेपछि नै प्रमुख भन्सार अधिकृत विवादमा तानिएको कुरा भन्सार एजेन्टहरूले बताएका छन् ।

भण्डारीले विराटनगर भन्सारको बागडोर सम्हालेपछि मात्र स्यानिटरी प्याड आयात प्रकरणदेखि पछिल्लो समय भन्सार जाँचपास गरिएको सामानसहित भन्सार एजेन्ट समेत राजस्व छलीमा जोडिएपछि विराटनगर भन्सारमा बढेको व्यक्तिगत कमाउ प्रवृत्ति छरपस्ट भएको कुरा जानकाहरूले बताएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया