Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकिराना पसल बन्द गर्न निर्देशन दिएको सकारसँग कति छ खाद्यान्न मौज्दात ?

किराना पसल बन्द गर्न निर्देशन दिएको सकारसँग कति छ खाद्यान्न मौज्दात ?


काठमाडौं ।
कोरोना संक्रमणलाई फैलिन नदिने भन्दै उपत्यकामा अत्यावश्यकबाहेक अन्य सेवा सञ्चालनमा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न, तरकारी पसल समेत बन्द तथा मालवाहक सवारीसाधन आवगमनमा समेत कडाइ गर्न लागेको हो ।

यसैबीच खाद्यान्न, तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीका पसल समेत बन्द गरेर उपत्यकाबासीलाई अप्ठ्यारोमा पारेको सरकारसँग भने दाल, चामल, गेडागुडी, नुन, चिनीलगायतका सामग्रीको मौज्दात तथा उपत्यकामा आयात भइरहेको जानकारी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल १४ हजार ६५ मेट्रिक टन चामल मौज्दात तथा पाँच हजार मेट्रिक टन चामल खरिद प्रक्रियामा रहेको बताइएको छ । खाद्यसँग १२ हजार छ सय छ क्विन्टल गहुँ रहेको छ ।

यस्तै साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक लाख ४६ हजार चार सय ३२ मेट्रिक टन तथा दुर्गममा दुई हजार छ सय ९७ मेट्रिक टन आयोडिनयुक्त नुन मौज्दात रहेको जनाएको छ । लिमिटेडसँग ५० हजार नौ सय १० मेट्रिक टन र निजी क्षेत्रसँग करिब ५० हजार मेट्रिक टन चिनी मौज्दात रहेको बताइएको छ ।

मन्त्रालयले ४८ हजार पाँच सय ३७ मेट्रिक टन खाद्यान्न, पाँच हजार तीन सय मेट्रिक टन दलहन÷गेडागुडी, छ हजार आठ सय मेट्रिक टन तरकारी, पाँच हजार चार मेट्रिक टन फलफूल, ५३ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको बताइएको छ ।

मन्त्रालयका अनुसार आयात र मौज्दातका साथै बिक्री विभिन्न जिल्लामा रहेका खाद्य र साल्ट ट्रेडिङका शाखाहरुबाट चामल, नुन, चिनीलगायतका खाद्य सामग्री बिक्री समेत भइरहेको छ । खाद्यान्न बिक्री परिमाण सुगम जिल्लाहरुमा ८० हजार क्विन्टल तथा दुर्गम जिल्लाहरुमा ९४ हजार क्विन्टल रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका वाणिज्य सचिव दिनेश भट्टराईले खाद्यान्न, नुन, चिनी, तरकारीलगायतका सामग्री मौज्दात मात्र नभई उपत्यकामा आयात समेत भइरहेको जानकारी गराए । उनले उपत्यकामा थानकोट नाका हुँदै दिनहुँजसो खाद्य, दूध, तरकारी र मासुजन्य पदार्थहरु आइरहेको बताए ।

मन्त्रालयका अनुसार जेठ पहिलो साता चामल, धान, गहुँ, मकै, दाल बोकको ट्रकहरु क्रमशः एक सय ५४ वटा, नौवटा, १० वटा, २२ वटा, ९२ वटा ट्रकहरु थानकोट नाका हुँदै उपत्यका प्रवेश गरेका छन् । यस्तै सोही अवधिमा अण्डा, मैदा, चिनी, नुन, फलफूल, दूध, घ्यूतेल र तरकारी बोकेका ट्रकहरु क्रमशः एक सय ३८ वटा, ८६ वटा, ६४ वटा, २५ वटा, एक सय २१ वटा, ८८ वटा र दुई सय ५८ वटा ट्रकहरु थानकोट नाका हुँदै उपत्यका प्रवेश गरेका छन् ।

यस्तै जेठ पहिलो साता नै कुखुरा, खसी र राँगा बोकेका ट्रकहरु क्रमशः एक सय ९१ वटा, २३ वटा र ३४ वटा ट्रकहरु थानकोट नाका हुँदै उपत्यका प्रवेश गरेका छन् भने औषधिका ६३ वटा ट्रक, अक्सिजनका १६ वटा ट्रकहरु उपत्यका प्रवेश गरेका छन् ।

मौज्दात र आयात निरन्तर हुँदा उपत्यकाका साथै सुगम, दुर्गमका जिल्लाहरुमा खाद्यान्नको समस्या नहुने मन्त्रालयले जनाएको छ । उपत्यकाको तीनवटै प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञा १३ गते राति १२ बजेबाट सकिँदै छ भने नयाँ आदेश भने जेठ १४ गते बिहान १ बजेबाट लागू हुँदै छ ।

थप कडाइ गर्दै जारी गरेको निषेधाज्ञामा काठमाडौंको हकमा भने दैनिक चाहिने चामल, दाललगायत खाद्यवस्तु दुई दिनभित्र जोहो गर्न स्थानीयलाई आग्रह गरिएको थियो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञामा खाद्यान्न पसल बन्द गरिने हुँदा एक साताका लागि चाहिने खाद्यसामग्री जोहो गर्न स्थानीयलाई आग्रह गरेका हुन् ।

कोरोना संक्रमण रोक्नका लागि अत्यावश्यक सेवासरहको खाद्यान्न पसल बन्द गर्ने निर्णय प्रभावकारी नभएको स्वास्थ्य सम्बद्ध अधिकारीहरुले बताएका छन् । उनीहरुले सरकारले खोप ल्याउने तथा उपचारलाई सहज बनाउनुपर्नेमा निषेधाज्ञा थप कडाइ गरेर मात्र संक्रमण नियन्त्रणमा आउन नसक्ने बताएका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया