Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार५० करोडको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला

५० करोडको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले जेठ १३ गते अर्थात् आज बिहीबारबाट ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुल्ला गरेको छ । नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागअन्तर्गत आजबाट वैदेशिक रोजगार बचतपत्र २०८३ (पाँच वर्षे) को बिक्री खुल्ला भएको हो ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद अवधि यही असार ३ गतेसम्म तोकिएको छ । निष्काशन मिति २०७८ असार ८ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति भने २०८३ असार ८ गते तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी भने अर्धवार्षिकरुपमा हुुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र देशबाहिर रोजगारीमा संलग्न वा देशबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यहरु अर्थात् बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीको नाममा समेत खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार बचतपत्रको खरिद गर्न पाउने सीमा घटीमा १० हजार रुपैयाँ र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको छ । खरिद गरिएको बचतपत्र धितो राखेर कुुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । बचतपत्र खरिदका लागि सिटिजन्स बैंक इन्टरनेशनल, नबिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभुु बैंकसमेतका १२ वटा बिक्री एजेन्टहरु नियुक्त गरिएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण लक्ष्य लिएको छ । सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ६९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्नेछ । राष्ट्र बैंकका अनुसार पछिल्लो पटक अर्थात् आज बिहीबार खुल्ला भएको वैदेशिक रोजगार बचतपत्रको बिक्री भने सोही लक्ष्यअन्तर्गतको हो ।

वैदेशिक रोजगार बचतपत्र खरिदको लागि तोकिएका कम्पनीहरु
क्र.सं.    बिक्री एजेन्टको नाम
१. सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
२. नबिल बैंक लिमिटेड
३. माछापुच्छ्रे बैंक लिमिटेड
४. प्रभुु बैंक लिमिटेड
५. सनराईज बैंक लिमिटेड
६. सिद्धार्थ बैंक लिमिटेड
७. सानिमा बैंक लिमिटेड
८. सेञ्चुरी कमर्सियल बैंक
९. प्रभुु मनी ट्रान्सफर
१०. सेवा रेमिट प्रालि
११. सिटी एक्सप्रेस मनी ट्रान्सफर
१२. आईएमई लिमिटेड
(स्रोत : नेपाल राष्ट्र बैंक) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया