Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारखानेपानीमा ४३ अर्ब ५४ करोबड बजेट

खानेपानीमा ४३ अर्ब ५४ करोबड बजेट


काठमाडौँ ।सरकारले खानेपानी तथा सरसफाइमा आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ४३ अर्ब ५४ करोड विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेट वक्तव्यमा सबै नागरिकमा खानेपानीको पहुँच विस्तार गर्दै गुणस्तरीय खानेपानी उपलब्ध गराइने उल्लेख छ ।

अहिले ९१ दशमलव पाँच प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । यस्तै, एक घर एक धाराको अवधारणा कार्यान्वयन गरिने, खानेपानीको दीगो व्यवस्थापनका लागि उपभोक्ता समितिको क्षमता विस्तार गरिने बजेटमा उल्लेख छ । चालू आवमा मेलम्ची खोलाको पानी वितरण सुरु भएकामा सरकारले आगामी आवमा सोही आयोजनाअन्तर्गत यांग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आवश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ ।

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आवमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरिएको छ । सरकारले आगामी आवमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमि नयाँ वितरणलाइन थप गरी एक लाख १० हजार घरधूरीमा पानी वितरण गरिनेछ । यस्तै दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइनेछ । सो कामका लागि सरकारले चार अर्ब ७९ करोड विनियोजन गरिएको छ ।

निर्माणाधीन नदी पथान्तरण आयोजनाबाट तराई–मधेश र भित्री मधेशका ठूला सहरहरुमा खानेपानी आपूर्ति गर्ने गरी आयोजना विकास गरिने र ग्रामीण क्षेत्र लक्षित खानेपानी आयोजना निर्माण सुरु गर्दा लागतको एक प्रतिशत रकम उपभोक्ताले जम्मा गर्नुपर्ने व्यवस्था खारेज गरेको छ । उपभोक्ता समूहद्वारा सञ्चालित खानेपानी आयोजनामा विद्युत महसुल तथा डिमाण्ड शुल्क पूरै छुटको व्यवस्था गरेको छ । त्यस्तै, सरकारले आगामी आबमा बिभिन्न स्थानमा लिफ्ट खानेपानी आयोजना सम्पन्न गर्न तीन अर्ब ६६ करोड विनियोजन गरेको छ । सहलगानीमा निर्माणाधीन आयोजना सम्पन्न गर्न दुई अर्ब ६८ करोड छुट्याइएको छ । संघ, प्रदेश र स्थानीय तहद्वारा सञ्चालित आयोजना प्रणाली नियमित मर्मतका लागि तीन अर्ब २९ करोड विनियोजन छ । काठमाडौँ उपत्यकामा र उपत्यकाबाहिरका सहरमा ढल प्रशोधन केन्द्र निर्माण अघि बढाउन पनि बजेट वक्तव्यमा उल्लेख छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया