Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुरक्षाकर्मीको रासन १५ प्रतिशत र कर्मचारीको मासिक तलब दुई हजारले वृद्धि

सुरक्षाकर्मीको रासन १५ प्रतिशत र कर्मचारीको मासिक तलब दुई हजारले वृद्धि


काठमाडौँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको रासनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षाकर्मीको मनोबल उच्च बनाउन रासनमा वृद्धि गरिएको जानकारी दिए ।यस्तै राष्ट्रसेवक कर्मचारीको मासिक तलबमान दुई हजार रूपैयाँले वृद्धि भएको छ । कोभिड–१९ को व्यवस्थापनमा गर्नुपर्ने बढ्दो खर्चको कारण तलबमानमा अपेक्षित वृद्धि गर्ने अनुकूल परिस्थिति नभए पनि सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्न साउन १ गतेदेखि लागू हुनेगरी सबै राष्ट्रसेवकको तलबमानमा मासिक दुई हजार वृद्धि गरेको उनले जानकारी दिए ।

हाल प्रदान गरिएको महँगी भत्तालाई पनि निरन्तरता दिएको उनले बताए । राष्ट्रसेवकको तलबमान एवम् अन्य सेवा सुविधालाई दक्षिण एसियाका अन्य मुलुकसँग तादाम्यता कायम गर्न तलबमान सम्वन्धमा अध्ययन गरी सुझाव पेस गर्न विशेषज्ञ सम्मिलित पे–कमिसन गठन गरिने पनि उनले जानकारी दिए । यस्तै निजामती कर्मचारीको १० लाख रूपैयाँको सामूहिक दुर्घटना बीमा र एक लाखको स्वास्थ्य बीमा प्रिमियमबापतको रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाएको बताए ।

यसैगरी निजामती सेवाको पद छ महिनाभित्र पदपूर्ति गरिसक्नुपर्ने, राष्ट्रसेवकलाई सहुलियतदरमा आवास सुविधा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सबै प्रदेशमा सामूहिक आवास निर्माण गर्ने व्यवस्था मिलाइने, राष्ट्रसेवकलाई प्रदान गरिने सेवा सुविधालाई समयसापेक्ष बनाइने, प्रादेशिक तहका अस्पतालसँगको सहकार्यमा निजामती अस्पतालको सेवा विस्तार गरिने, निजामती कर्मचारीबाट संकलन भएको सामाजिक सुरक्षा करबापतको ५० प्रतिशत रकम निजामती सेवा अस्पतालको पूर्वाधार विकास तथा सेवाको विस्तारका लागि उपलब्ध गराइने, निजामती अस्पतालमा निजामती कर्मचारीका लागि शय्याको संख्या निश्चित गरिनुका साथै डेडिकेटेड बहिरङ्ग सेवा सञ्चालन गरिने व्यवस्था मिलाइएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशमा निजामती विद्यालय स्थापना गरिने, प्रदेशसँगको साझेदारी र सहकार्यमा धनकुटा र दिपायलमा सञ्चालित निजामती विद्यालयको स्तरोन्नति गरिने, निजामती कर्मचारीका सन्ततिलाई प्रदेशगतरूपमा प्रतिस्पर्धा गराई स्नातक र सोभन्दा माथिल्लो तहको अध्ययनका लागि पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति उपलव्ध गराइने, देशभरका शिक्षकलाई निवृत्तभरण अधिकारपत्रलगायत निजले पाउने अन्य सेवा सुविधा आगामी श्रावण १ गतेदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको पनि जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया