Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा पनि घट्दै सङ्क्रमितको सङ्ख्या

काठमाडौं उपत्यकामा पनि घट्दै सङ्क्रमितको सङ्ख्या


काठमाडौं ।
काठमाडौँ उपत्यकामा पनि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । यही जेठ ९ गते उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय २१ रहेकामा आइतबार सो सङ्ख्या घटेर एक हजार ९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा आठ सय चार, ललितपुरमा एक सय ६८ तथा भक्तपुरमा एक सय १३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार तीन सय ७७ रहेको छ । हालसम्म कोरोनाबाट एक लाख ७० हजार तीन सय ६२ सङ्क्रमित निको भएका छन् भने एक हजार पाँच सय ९९ सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ललितपुरमा हाल छ हजार पाँच सय २५ सक्रिय सङ्क्रमित रहेका छन् ।

हालसम्म २६ हजार एक सय २५ सङ्क्रमित निको भएका छन् भने कोरोनाबाट चार सय ३० सङ्क्रमितको मृत्यु भएको छ । यसैगरी भक्तपुरमा चार हजार पाँच सय एक सक्रिय सङ्क्रमित छन् । निको हुनेको सङ्ख्या १४ हजार नौ सय ६६ रहेको छ भने तीन सय २१ सङ्क्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या छ हजार सात सय ४१ रहेकामा आइतबार सो सङ्ख्या घटेर चार हजार तीन सय ६९ रहेको छ । यस्तै पाँच दिनअघि कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ४५ रहेकामा आइतबार सो सङ्ख्या घटेर एक सय नौ पुगेको छ ।

यही जेठ १ गते कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार एक सय ६७ रहेको थियो भने कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ८७ थियो । जेठ ३ गते नेपालमा हालसम्मकै बढी नौ हजार दुई सय ४७ जना कोरोनाबाट सङ्क्रमित भएका थिए । सो दिन कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या भने दुई सय १४ रहेको थियो । जेठ ५ गते कोरोनाबाट नेपालमा कोरोनाबाट हालसम्मकै बढी दुई सय ४६ जनाको मृत्यु भएको थियो । त्यसयता मृत्युदर भने लगातार घट्दै गएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार नौ सय ८६ जनाको पीसीआर परीक्षण तथा एक हजार सात सय ८४ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट तीन हजार सात सय दुई तथा एन्टिजेनबाट छ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या नेपालमा पाँच लाख ५३ हजार चार सय २२ पुगेको छ । हाल सात सय ६३ सङ्क्रमित क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म चार लाख ४० हजार नौ सय ५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर छ हजार दुई सय पाँच सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ७९ दशमलव २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर एक लाख आठ हजार आठ सय ९७ सक्रिय सङ्क्रमित रहेका छन् । पीसीआर परीक्षण गराउनेको सङ्ख्या ३० लाख ४२ हजार तीन सय ६९ पुगेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया