Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुपारीको आयात तीव्ररूपमा हुँदा हुण्डीको कारोबार फस्टायो

सुपारीको आयात तीव्ररूपमा हुँदा हुण्डीको कारोबार फस्टायो


विराटनगर ।
पछिल्लो समय मुलुक कोरोनाले आक्रान्त बनेर सबै उद्योग तथा व्यवसाय समेत थला परेका बेला सुपारीको कारोबार गर्न पल्केका व्यवसायीले सुपारी आयातको खेलमा अर्बौं रुपैयाँ अवैध बाटो हुण्डीबाट कारोबार गर्नेगरेको नयाँ तथ्यको खुलासा भएको छ ।

तेस्रो मुलुकबाट सुपारी आयात गरी नेपाली सुपारी बनाएर अवैधानिक रूपमा भारत पठाउन पल्केका व्यवसायीलाई संरक्षण गर्दै सरकार आफैंले यो वर्ष सरकारी निकायसँगको मिलेमतोमा सुपारी आयातमा कोटा प्रणाली लागू गरेको थियो । उक्त अनुमति पाएपछि अहिले अर्बौं रुपैयाँभन्दा बढी गैरबैंकिङ प्रणाली अर्थात् हुण्डीबाट रकम बाहिर पठाउने गरेको तथ्य खुल्न पुगेको हो ।

स्रोतका अनुसार सुपारी आयातमा लागेको सरकारी प्रतिबन्ध हटाउन सफल बनेका सुपारी व्यापारीहरूले अहिले तीव्ररूपमा इन्डोनेसियाबाट सुपारी आयात गरिरहेका छन् । सरकारी अधिकारीसँगको मिलेमतोमा नै मुलुकलाई आवश्यक नै नभएकोे सुपारी आयात अनुमति पाउन सफल भएका व्यवसायीले अहिले प्रतिटन एक हजार ५० डलर मूल्य देखाएर सुपारी ल्याइरहेका छन् । इन्डोनेसियामा उक्त सुपारीको मूल्य न्यूनतम १५ सय डलरदेखि अधिकतम २५ सय डलरसम्म मात्र प्रतिटन मूल्य रहेको छ ।

सुपारी व्यवसायीले नेपाल भन्सारमा देखाएको मूल्यबराबरको रकम बैंकिङ प्रणालीबाट जाने गरेको भए पनि त्यति नै बराबरको रकम भने अवैध बाटो हुँदै हुण्डीबाट विदेश जानेगरेको बताइएको छ । उक्त समूहले पछिल्लो समय नेपालका विभिन्न भन्सार नाकाबाट २५ हजार मेट्रिक टन सुपारी भित्र्याउन थालेका छन् । प्रतिटन वास्तविक मूल्यमा पर्ने फरकबराबरको पैसालाई सुपारीको धन्दा गर्नेहरूले अवैध बाटो अर्थात् हुण्डीबाट पठाउने गरेको दाबी व्यवसायी उच्चस्रोतले गरेको छ ।

हालको भन्सार मूल्य र इन्डोनेसियाको बजार मूल्यका हिसाबले आउने फरक करिब तीन अर्ब रुपैयाँभन्दा बढी हुन जाने र उक्त फरक पर्ने मूल्यबराबरको पैसा भने अवैध बाटो हुण्डीबाट विदेशमा भुक्तानी हुनेगरेको पाइएको छ । सुपारीको कारोबार गर्दा हुण्डीकै साहारामा रकम भुक्तानी गर्नेगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार अन्य व्यवसायका व्यवसायीले समेत अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा तलमाथि हुँदा त्यस्ता वस्तुको कारोबारमा संलग्न व्यवसायीले पनि हुण्डीकै सहारा लिएर भुक्तानी गर्ने चलन विश्वव्यापी रूपमा चलेको छ ।

पछिल्लो समय धमाधम आयात भएको सुपारीलाई नेपाली सुपारी बनाउन अहिले सिफारिस दिने कामका लागि सुपारी किसानका नाममा खुलेका केही बिचौलिया संस्थालाई प्रयोग गर्ने गरेको पाइएको छ । सुपारी खेती विकास संस्थाको नामबाट सुपारी व्यवसायीले तेस्रो देशबाट ल्याएर राखेको सुपारीको स्टक कागजात हेरेकै भरमा नेपाली सुपारी भएको भनेर सिफारिस दिने गरेको खुलेको छ ।

यसरी सुपारीको कारोबारमा संलग्न व्यवसायीहरूले कागजातकै भरमा तेस्रो मुलुकबाट ल्याएको सुपारीलाई प्रतिकेजी ५० रुपैयाँका दरले किर्ते सुपारी खेतीका नाममा खुलेका संस्थालाई शुल्क बुझाएर सिफारिस लिनेगरेको समेत दाबी गरिएको छ । जसले गर्दा तेस्रो मुलुकबाट सुपारीको आयात बढ्न थालेपछि अहिले मुलुकमा हुण्डीको कारोबार एक्कासि फस्टाउँदै गएको छ ।

नेपाल ल्याइएको सुपारीलाई नेपाली बनाएर वैधानिक अनि अवैधानिक रूपमा भारत पठाउँदा ५० प्रतिशतसम्म मुनाफा हुनेगरेको बताइन्छ । भारतमा सुपारी आयातमा महँगो भन्सार र जीएसटी शुल्क भएकाले भारतको पश्चिम बंगालका सुपारी व्यवासायी नारायण अग्रवालले नेपाली सुपारी व्यवासायीलाई सहजीकरण गर्ने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया