Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा बजेटको स्वागत

सुनचाँदी रत्न तथा आभूषण महासंघद्वारा बजेटको स्वागत


काठमाडौं ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटको स्वागत गरेको छ । उक्त बजेटमा कोभिड–१९ को मारबाट शिथिल बनेको उद्योग, वाणिज्यलगायत अर्थतन्त्र र सामाजिक जन–जीवनका हरेक क्षेत्रमा सहुलियत एवं राहतको व्यवस्थाको साथै अर्थतन्त्रको पुनरोत्थानका लागि गरिएको प्रक्षेपणसहितको पहल अत्यन्त व्यावहारिक र सकारात्मक भएकोले महासंघले जनाएको छ ।

महामारीका कारण अर्थतन्त्रका विविध क्षेत्रले काम नै गर्न नसकेकोले आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको अवस्थामा महामारीमाथि कठोर नियन्त्रण गरी अर्थतन्त्रलाई सुचारु तुल्याई वार्षिक ६ प्रतिशतको वृद्धिदर हाँसिल गर्ने अठोट र प्रतिबद्धता सहितको प्रक्षेपणले निजी क्षेत्रको मनोबल बढाएको महासंघको भनाई छ । सुर्खेतमा स्वदेशी रत्न, पत्थरको प्रशोधन तथा प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा परियोजना सञ्चालन गर्ने कार्यक्रम बजेटमा समावेश हुनुले आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, रोजगारी विस्तार, राजस्व अभिवृद्धि आदि क्षेत्रमा ठोस योगदान पुग्ने विश्वास गर्न सकिने महासंघले जनाएको छ ।

महासंघले उच्च मूल्य र कम तौलका बहुमूल्य नेपाली मौलिक गरगहना एवं रत्न, पत्थरको प्रवद्र्धन गरिएमा आयात प्रतिस्थापन र निर्यात वृद्धिमा ठूलो योगदान पुग्छ भन्ने तथ्यलाई सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको पनि जानकारी गराएको छ ।

स्वदेशी उद्योगका लागि सीपयुक्त जनशक्तिको आपूर्ति र परम्परागत पेसा एवं सीप विकासको लागि विभिन्न किसिमका तालिमको व्यवस्था गरिने पनि बजेट वक्तव्यमा उल्लेख हुनुले थप उत्साह बढाएको महासंघको भनाइ छ । महासंघका अनुसार बहुमूल्य गहना निर्माणको लागि कालिगढ तालिम दिइएमा युवा पुस्ताले उच्च पारिश्रमिक पाउने रोजगारी स्वदेशमा नै प्राप्त गर्न सक्नेछन् ।

सुनको आयातमा विगत लामो समयदेखि कायम रहेको परिमाणात्मक बन्देज र एकाधिकारको पनि यस बजेट वक्तव्यमार्फत अन्त्य हुनेछ भन्ने अपेक्षा महासंघले राखे पनि उक्त कुरा भने नसमेटिएको महासंघले जनाएको छ । यो विषयलाई नेपाल राष्ट्र बैंकबाट प्रस्तुत हुने आव २०७८/७९ को मौद्रिक नीतिमार्फत सम्बोधन गर्न पनि महासंघले आग्रह गरेको छ । महासंघका अनुसार बहुमूल्य गहनाको निर्यात विस्तारको बृहत् सम्भावना रहेको सन्दर्भमा मुख्य कच्चापदार्थको रूपमा रहेको सुनको चरम अभावले यस व्यवसायको भविष्यमाथि नै गम्भीर चुनौती उत्पन्न भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया