Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


रोयल मार्बलद्वारा राजस्व ठगी
शंकर लुइँटेल
विराटनगर, माघ ३
विराटनगरमा सञ्चालित रोयल मार्बलले राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व कार्यालय विराटनगरले कम्पनीको कागजात नियन्त्रणमा लिई कारबाही गरेको थाहा भएको छ । विराटनगरको धरान रोडअन्तर्गत कन्चनबारीमा सञ्चालन हुँदै आएको रोयल मार्बललाई आन्तरिक राजस्व कार्यालयले कारबाही गरेको हो । कार्यालयले उक्त फर्मलाई निगरानीमा राखेको खुलेको छ । केही समयअघि फर्मका सञ्चालकहरुले व्यापक राजस्व चुहावट गरेको स्रोतको दाबी छ । फर्मको भन्सार एजेन्टदेखि विराटनगर भन्सार कार्यालयसम्मको सेटिङ्गमा मार्बल आयात हुँदै आएको छ ।

रोयल मार्बलको सञ्चालकमा राजेश कुमार अग्रवाल, दिपेश तायल र अमित सिंघल छन् । रोयल मार्बलले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ साल मंसिर १७ देखि ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता भई मार्बल र टायल्सको काम गर्दै आएको छ । फर्मलाई कार्यालयले दुई पटक फुल अडिट गरी हिसाब मिलाउन सचेत गराएको थियो । फर्मका सञ्चालकले मिस्त्रीमार्फत मार्बल र टायल्सको बिक्री गर्दा मिस्त्री कमिसन भनी रकम कट्टा गरिदिने फर्म सञ्चालकको नियतका कारण सरकारले सोचेभन्दा न्यून राजस्व बुझाएर चोरी गर्न सञ्चालकहरु सफल भएका छन् ।

यसरी बिक्री भएको मालमा समेत न्यून भ्याट बिल प्रयोग गरी फर्मले व्यापक राजस्व ठगी गरेको स्रोतको भनाइ छ । कम्पनीले बिलबीजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी उपभोक्तासँग असुली गर्ने नयाँ फर्मुला अपनाएको पनि खुलेको छ । यसले गर्दा आन्तरिक राजस्व कार्यालयमा रोयल मार्बलमाथिको उजुरी पर्ने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया