Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१ सय ३५ बैंक तथा फाइनान्स कम्पनी खारेज

१ सय ३५ बैंक तथा फाइनान्स कम्पनी खारेज


सुरेश राउत
काठमाडौं, माघ ३
राष्ट्र बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गरेपछि हालसम्म १ सय ३५ वटा बैंक तथा फाइनान्स कम्पनीहरुको इजाजत खारेज भएको छ । इजाजत खारेज हुनेहरुमा तत्कालीन किष्ट बैंक, ग्राण्ड बैंक, एचएण्डबी बैंक, सोसाइटी डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, ब्राइट डेभलपमेन्ट बैंक, एल्पिक फाइनान्स, सीएमबी फाइनान्स, बुटवल फाइनान्स, सूर्यदर्शन फाइनान्स, भिवोर विकास बैंक लगायतका सस्थाहरु रहेका छन् ।

‘मर्जर तथा प्राप्तिसम्बन्धी व्यवस्था पूर्ण कार्यान्वयनमा आएपछि हालसम्म एक सय ७८ वटा बैंक तथा फाइनान्स कम्पनीहरु मर्जर तथा प्राप्तिमा सामेल भएका कारण ती संस्थाहरुको इजाजत खारेज भएकोे हो’, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने । यसरी इजाजत खारेज हुन गई कुल ४३ संस्था मात्र कायम भएको उनको भनाइ छ । नेपाली बैंकिङ क्षेत्रमा अहिले २७ वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २५ विकास बैंक, २२ फाइनान्स कम्पनी र ८९ वटा लघुवित्त वित्तीय संस्थाहरु समेत गरी कुल एक सय ६३ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । यसमध्ये अझै दुई दर्जन बढी संस्थाहरु मर्जर तथा प्राप्ति प्रक्रियामा नै रहेको प्रवक्ता भट्टले बताए ।

सोमध्ये प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्दै छ भने कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति गर्दै छ । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गर्ने तयारी गरेको छ । लघुवित्त वित्तीय संस्थातर्फ पनि १७ वटाले मर्जर तथा प्राप्तिको प्रक्रिया सुरु गरेका छन् । सोही आधारमा आगामी समय अझै धेरै बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा प्राप्तिमा सामेल हुने र सोही आधारमा धेरै संस्थाहरुको इजाजत खारेज हुने प्रवक्ता भट्टले बताए ।

पछिल्लो अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या भने नौ हजार दुई सय २३ वटा रहेको छ । सोमध्ये वाणिज्य बैंकहरुको कुल शाखा संख्या तीन हजार नौ सय ३५, विकास बैंकहरुको एक हजार दुई सय ७३, फाइनान्स कम्पनीहरुको दुई सय २० र लघुवित्त वित्तीय संस्थाहरुको तीन हजार सात सय ९५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । प्रवक्ता भट्टका अनुसार यसअघि अर्थात् २०७६ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुको कुल शाखा संख्या आठ हजार छ सय ८६ रहेको थियो ।

कुमारी बैंकले देव विकास बैकलाई प्राप्ति गर्ने :- कुमारी बैंक लिमिटेडले राष्ट्रियस्तरको देव विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । एक समारोहका बीच बुधबार दुवै बैंकका प्रतिनिधिहरुले प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा कुमारी बैंक र देव विकास बैंकका तर्फबाट बैंकका सञ्चालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकद्वय क्रमशः कृष्ण प्रसाद ज्ञवाली तथा भरत बहादुर हमालले हस्ताक्षर गरेका छन् । सो समारोह दुवै बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका उच्च व्यवस्थापनका पदाधिकारीहरूबीच सम्पन्न भएको हो ।

प्राप्तिपश्चात् कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । यसैगरी कुल निक्षेप एक अर्ब २० अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ भने कुल कर्जा रकम एक खर्ब पाँच अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । प्राप्तिपश्चात् कुमारीको कुल शाखा सञ्जाल दुई सयभन्दा बढी पुग्नेछ । प्राप्तिपछि आन्तरिक वित्तीय, मानव संसाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि हुनुका साथै राष्ट्रिय बैंकिङ्ग तथा वित्तीय प्रणालीको संवर्द्धन हुने र सर्वसाधारणको बैंकप्रतिको विश्वास बढ्ने कुमारी बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया