Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना सङ्क्रमण कमी

कोरोना सङ्क्रमण कमी

चीनबाट आइपुग्यो थप नौ लाख मात्रा खोप


काठमाडौं ।
पछिल्ला दिनहरुको तथ्यांकले नेपालमा कोरोना संक्रमणको दर केही घटेको देखाएको छ । देशका अन्य भागमा जस्तै राजधानी काठमाडौंमा पनि कोरोना संक्रमितको संख्या घटेको छ । यद्यपि अझै पनि दैनिक हजारभन्दा बढी नै काठमाडौंमा संक्रमित फेला पर्ने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार छ हजार आठ सय ९८ कोरोना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् भने सोही अवधिमा छ हजार ८५ मा कम सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार एक सय ४७ को पीसीआर र तीन हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआरमार्फत पाँच हजार दुई सय ८५ र एन्टिजेनमार्फत आठ सय सङ्क्रमित पुष्टि भएको हो । यस्तै हाल देशभर एक लाख चार हजार सात सय ८९ सक्रिय सङ्क्रमित छन् । मन्त्रालयको अनुसार सोही अवधिमा देशभर ६८ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात हजार चार सय ५४ पुगेको छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार लाख ५४ हजार तीन सय ४४ छ ।

यसैबीच, कोभिड–१९ विरुद्ध चीनले दिएको थप नौ लाख डोज खोप मंगलबार नेपाल आइपुगेको छ । नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सि चिनफिङ्गसँग फोन गरी खोप सहयोग र खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेपछि चीनले दश लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसारको नौ लाख डोज खोप मंगलबार नेपाल आइपुगेको हो ।

नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा र हिमालय एयरलाइन्सबाट एक लाख गरी नौ लाख मात्रा खोप ल्याइएको होे । उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो । बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निःशुल्क ल्याउने जनाएको छ ।

काठमाडौंमा अर्को एक हप्ता निषेधाज्ञा : गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा काठमाडौं उपत्यकामा फेरि एक हप्ता थप हुने भएको छ । पहिलोपटक एक साताका लागि भनेर लगाइएको निषेधाज्ञाको म्याद पटक–पटक थप गर्दै फेरि एक साता लम्ब्याउन लागिएको हो । निषेधाज्ञाको कारण कोरोना संक्रमणको दर घटेको भन्दै स्थानीय प्रशासनले थप एक साताको लागि निषेधाज्ञा लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको छ । देशका अन्य जिल्लामा संक्रमण घटे पनि काठमाडौं जिल्ला मात्रै दैनिक हजारभन्दा बढी नै संक्रमित भइरहेका छन् ।

Open Photo

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि उपत्यकामा यही १४ देखि २० गते राति १२ बजेसम्का लागि थप कडाइ गर्दै निषेधको आदेश थप गरिएको थियो । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको मंगलबारको बैठकले १४ गतेअघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको हो । बुधबार बैठक बसेर उक्त निर्णय गरिने बताइएको छ ।

थप गरिने एक साताको अवधिमा खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान ९ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रूपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुनेछन् । यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । आदेशका अन्य प्रावधान भने यथावत् रहने जनाइएको छ । जसअनुसार अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया