Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतीय रुपैयाँको खरिद बढ्यो

भारतीय रुपैयाँको खरिद बढ्यो

राष्ट्र बैंकद्वारा चार खर्ब चार अर्ब ७० करोड भारु खरिद


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चार खर्ब चार अर्ब ७० करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा अमेरिकी डलर तीन अर्ब ४४ करोड बिक्री गरी चार खर्ब चार अर्ब ७० करोड रुपैयाँबराबरको भारतीय रुपैयाँ खरिद भएको हो । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब छ करोड बिक्री गरी तीन खर्ब ५० अर्ब एक करोडबराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी राष्ट्र बैंकले पछिल्लो नौ महिनाको अवधिमा तीन खर्ब तीन अर्ब रुपैयाँभन्दा बढीको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैैंकका अनुसार यस अवधिमा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन गरिएको हो । रिपोमार्फत भने यस अवधिमा एक अर्ब दुई करोड र स्थायी तरलता सुविधामार्फत सात अर्ब १२ करोड गरी कुल आठ अर्ब १४ करोड तरलता प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब गरी कुल ५८ अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत एक खर्ब १३ अर्ब ९९ करोड र स्थायी तरलता सुविधामार्फत ७३ अर्ब छ करोड गरी कुल एक खर्ब ८७ अर्ब चार करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुबाट अमेरिकी डलर दुई अर्ब ७५ करोड खुद खरिद गरी तीन खर्ब २४ अर्ब ८४ करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुुई अर्ब ६६ करोड खुद खरिद गरी तीन खर्ब पाँच अर्ब २३ करोड तरलता प्रवाह गरिएको थियो । यसैबीच राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७७ चैत मसान्तमा ४८ हजार आठ सय ६० ऋणीहरुसँग एक खर्ब २३ अर्ब १४ करोड लगानीमा रहेको जानकारी दिएको छ ।

२०७७ चैत मसान्तसम्ममा ८९ हजार आठ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई एक खर्ब ४२ अर्ब दुई करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ४२ हजार चार सय ४७ ऋणीलाई प्रवाह भएको ९६ अर्ब ६० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४५ हजार एक सय २८ महिला उद्यमीलाई प्रवाह भएको ४२ अर्ब १६ करोड रुपैयाँ कर्जा रहेको छ ।

राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुुई हजार तीन सय चार ऋणीको तीन अर्ब २६ करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु-याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्ममा ४२ करोड प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया