Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर धितोमा बैंकिङ क्षेत्रको झण्डै एक खर्ब रुपैयाँ कर्जा लगानी

सेयर धितोमा बैंकिङ क्षेत्रको झण्डै एक खर्ब रुपैयाँ कर्जा लगानी


काठमाडौं ।
नेप्से सूचक तथा कारोबार रकम पछिल्लो समय उच्चरुपमा बढेसँगै बैंक तथा फाइनान्स कम्पनीहरुले सेयर धितोमा कर्जा लगानी बढाएका छन् । केही महिना अघिसम्म लगातार ओरालो लागेर २५ सय अंकको हाराहारीमा झरिसकेको नेप्से अहिले बढेर २८ सय अंकबाट पनि माथि चढिसकेको छ भने दैनिक १७ अर्ब रुपैयाँसम्मको सेयर किनबेच हुुने गरेको छ । यसबीचमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले निषेधाज्ञा समेत जारी गरेको छ । तर यी सबैको नकारात्मक प्रभाव सेयरबजारमा खासै देखिएको छैन ।

कोभिड १९ कै महामारीको बीचमा सेयरबजारमा दैनिकजसो नयाँ रेकर्ड बन्ने गरेका छन् । सेयरबजारमा आएको उछालका कारण पनि हुनसक्छ बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो नौ महिनाको अवधिमा सेयर धितोमा मात्र आफ्नो कुल कर्जा लगानीको झण्डै एक खर्बरुपमा कर्जा लगानी गरेका छन् ।

कोभिड १९ को महामारीकै कारण अन्य क्षेत्रमा कर्जाको माग खासै नभएकाले पनि हुनसक्छ बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको नौ महिनामा कुल ९१ अर्ब ८९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

सञ्चालनमा रहेका कुल २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १८ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरु समेत गरी कुल ६५ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले उक्त कर्जा प्रवाह गरेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । प्रवक्ता ढकालका अनुसार यस अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले ४४ खर्ब ६४ अर्ब ६१ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब २१ अर्ब २२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरुले मात्र भने सेयर धितोमा कुल ७८ अर्ब ९९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । ‘यस अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप तथा कुल कर्जा रकम क्रमशः ३९ खर्ब ४५ अर्ब ५४ करोड ७० लाख तथा ३५ खर्ब ६८ अर्ब ६६ करोड २० लाख रुपैयाँ रहेको थियो’, प्रवक्ता ढकालले भने ।

उनका अनुसार विकास बैंकहरुले मात्र चालू आवको पछिल्लो नौ महिनामा आफ्नो कुल कर्जामध्ये १० अर्ब ३२ करोड १० लाख रुपैयाँ सेयर धितोमा प्रवाह गरेका छन् । यस अवधिमा विकास बैंकहरुको कुल निक्षेप चार खर्ब १६ अर्ब ४६ करोड र कुल कर्जा रकम तीन खर्ब ६७ अर्ब ९० करोड २० लाख रुपैयाँ रहेको थियो ।

प्रवक्ता ढकालका अनुसार यस अवधिमा फाइनान्स कम्पनीहरुले भने कुल एक खर्ब दुई अर्ब ६० करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये सेयर धितोमा मात्र प्रवाह भएको कुल कर्जा रकम दुई खर्ब ५७ करोड ९० लाख रुपैयाँ रहेको प्रवक्ता ढकालको भनाइ छ ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया