Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाँकेका स्थानीय तहलाई चार अर्ब बजेट

बाँकेका स्थानीय तहलाई चार अर्ब बजेट


बाँके ।
बाँके जिल्लाका स्थानीय तहका लागि संघीय सरकारले झण्डै चार अर्ब रूपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि सरकारले यहाँका आठवटा स्थानीय तहका लागि तीन अर्ब ९२ करोड ६२ लाख बजेट विनियोजन गरेको हो । वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमा बजेट विनियोजन गरिएको छ । जसमा चालूतर्फ तीन अर्ब ५२ करोड २२ लाख र पुँजीगततर्फ ४० करोड १४ लाख विनियोजन गरिएको हो ।

विनियोजन गरिएको कुल बजेटमध्ये समानीकरण अनुदानतर्फ एक अर्ब ३८ करोड ८६ लाख, ससर्त अनुदान दुई अर्ब ३० करोड ५६ लाख, विशेष अनुदान १० करोड ९३ लाख तथा समपूरक अनुदानतर्फ १२ करोड एक लाख प्रदान गरिएको हो । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिका र सबैभन्दा कम जानकी गाउँपालिकालाई बजेट छुट्याइएको छ ।

सरकारले नेपालगञ्जलाई ९४ करोड ६१ लाख बजेट विनियोजन गरेको छ । समानीकरणतर्फ ३२ करोड ५८ लाख, ससर्ततर्फ ५१ करोड ८८ लाख, विशेषतर्फ तीन करोड ११ लाख र समपूरक अनुदानतर्फ सात करोड चार लाख रकम विनियोजन गरेको हो ।

कोहलपुर नगरपालिकालाई ५५ करोड नौ लाख रकम सरकारले छुट्याएको छ । समानीकरणतर्फ २० करोड दुई लाख, ससर्ततर्फ २९ करोड ७३ लाख, विशेषतर्फ दुई करोड ७८ लाख र समपूरक अनुदानतर्फ दुई करोड ५६ लाख कोहलपुरलाई विनियोजन गरेको छ ।

जिल्लाका गाउँपालिकातर्फ सबैभन्दा धेरै खजुरालाई बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ । खजुराले ४९ करोड ८४ लाख बजेट पाएको हो । उसले समानीकरणतर्फ १५ करोड ९४ लाख, ससर्ततर्फ ३१ करोड ९८ लाख, विशेषतर्फ एक करोड ५० लाख र समपूरक अनुदानतर्फ ४२ लाख रकम पाएको हो । राप्तीसोनारी गाउँपालिकाले ४७ करोड २४ लाख बजेट पाएको छ ।

समानीकरणतर्फ १७ करोड १९ लाख र ससर्त अनुदातर्फ ३० करोड पाँच लाख बजेट राप्तीसोनारीले पाएको थियो । उसले विशेष र समपूरक अनुदानतर्फ बजेट पाएको छैन । यस्तै बैजनाथ गाउँपालिकाले ४६ करोड ५५ लाख बजेट पाएको छ । उसले समानीकरणतर्फ १६ करोड ६१ लाख, ससर्ततर्फ २८ करोड ५८ लाख, विशेषतर्फ ८४ लाख र समपूरक अनुदानतर्फ ५२ लाख रकम पाएको हो ।

डुडुवाको लागि ३६ करोड १५ लाख रकम छुट्याइएको छ । समानीकरणतर्फ १२ करोड २८ लाख, ससर्ततर्फ २१ करोड २३ लाख, विशेष अनुदानतर्फ एक करोड ६६ लाख र समपूरक अनुदानतर्फ ९८ लाख रकम डुडुवाले प्राप्त गरेको छ ।

जिल्लाको सबैभन्दा दुर्गम पालिका नरैनापुरले ३२ करोड १० लाख मात्र बजेट पाएको छ । उसले समानीकरणतर्फ ११ करोड ५५ लाख, ससर्ततर्फ १९ करोड दुई लाख, विशेषतर्फ एक करोड चार लाख र समपूरक अनुदातर्फ ४९ लाख रकम पाएको हो ।

जिल्लामा सबैभन्दा कम बजेट पाएको जानकी गाउँपालिकाको लागि सरकारले ३० करोड ७८ लाख रूपैयाँ विनियोजन गरेको छ । समानीकरणतर्फ १२ करोड ६९ लाख र ससर्ततर्फ १८ करोड नौ लाख रकम छुट्याइएको छ । जानकीलाई विशेष र समपूरक अनुदानको रकम भने विनियोजन गरिएको छैन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया