Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतामाकोशी आयोजनाको व्यावसायिक उत्पादन असारमा

तामाकोशी आयोजनाको व्यावसायिक उत्पादन असारमा


दोलखा ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको व्यवसायी विद्युत् उत्पादन असारमा मात्र हुनेभएको छ । आयोजनाका अनुसार जेठमा जलविद्युत्को सबै पार्टको काम सकिए असारमसान्तसम्म पहिलो युनिटको व्यवसायी उत्पादन सुरु हुनेछ ।

पछिल्लो समय भइरहेको मेकानिकल परीक्षण सफल भएकोले चालू वर्षको अन्तिम महिनाको मसान्तसम्म व्यावसायिक उत्पादन गर्नसकिने आयोजनाले जनाएको छ । गत सोमबार ७६ मेगावाट क्षमताको पहिलो युनिटको मेकानिकल परीक्षण गर्दा कुनै समस्या नदेखिएकाले व्यावसायिक उत्पादनको तयारी गरिएको आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले बताए । उनका अनुसार आयोजनाले ढिलोमा असार १५ सम्म सबै किसिमका परीक्षण पूरा गरेर विद्युत् उत्पादन सुरु गर्ने तयारी छ ।

केही समयअघि दोस्रो अडिट टनेलमा परीक्षण गर्दा केही समस्या देखिएको थियो । पानी चुहिएपछि परीक्षणको काम स्थगित गरिएको थियो । आयोजनाको जलाशय, बाँधलगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ । उक्त परीक्षण पूरा भएपछि वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत् उत्पादन सुरु हुने अनुमान आयोजनाले गरे पनि महत्वपूर्ण संरचनामा प्राविधिक समस्या देखिएको थियो ।

स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो । दोलखास्थित यस आयोजनाबाट चार सय ५६ मेगावाट बिजुली उत्पादन हुनेछ । आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको छवटा टर्वाइन जडान गरिएको छ । आगामी असार मसान्तभित्रमा तीनवटा युनिटबाट ७६ मेगावाटका दरले दुई सय २८ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने सरकारको लक्ष्य रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया