Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘नेपालको अर्थतन्त्रमा डिजिटाइजेसनको ठूलो महत्व छ’

‘नेपालको अर्थतन्त्रमा डिजिटाइजेसनको ठूलो महत्व छ’


 काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा डिजिटाइजेसनको ठूलो महत्व रहेको बताएका छन् । मिडिया इन्टरनेशनलको आयोजना र नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा सुरु भएको ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’को उद्घाटन गर्दै (वेबिनारमार्फत) उनले डिजिटल भुक्तानी आफैँमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताए ।

डिजिटइजेसनलाई कसरी अगाडि बढाउने भनेर नेपाल राष्ट्र बैंकले ठूलो सपना बोकेर हिँडेको र सोही सपनामा ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’ एउटा पाटो हुने उनको अपेक्षा छ । बैंक तथा वित्तीय संस्थाले समयको मागअनुसारको सेवा सुविधा दिनुपर्ने भन्दै गभर्नर अधिकारीले फाइनान्सियल सेक्टरमा डिजिटल सर्भिस बढाउनुपर्ने बताए । फाइनान्सियल डिजिटाइजेसन लिट्रेसीलाई अगाडि बढाउन बैंक तथा वित्तीय संस्थाहरु तथा डिजिटल सर्भिस प्रोभाइडरहरुले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । गभर्नर अधिकारीले नेपाल सरकारले डिजिटल फ्रेमवर्कलाई अगाडि ल्याएको भन्दै यसलाई साकार पार्न पनि यस अभियानले सहयोग पु¥याउने बताए । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक अहिले मौद्रिक नीतिको तयारीमा रहेको भन्दै सम्पूर्ण क्षेत्रलाई सुझाव उपलब्ध गराउन आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गाउँगाउँको वित्तीय पहुँचमा ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्वमन्त्री भगवती चौधरीले डिजिटाइजेसन सेक्टरमा ‘फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी’ अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । टेक्नोलोजीमार्फत गाउँघरमा वित्तीय साक्षरता दिँदा अति उत्तम हुने उनको भनाइ छ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले फाइनान्सियल डिजिटाइजेसनलाई ग्रामीण अर्थतन्त्र र कृषि क्षेत्रमा अगाडि बढाउनसके अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गरे ।

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले डिजिटाइजेसनका विषयलाई ग्राहकसम्म बुझाउन जरुरी रहेको बताए । अहिलेको युगमा पनि फिजिकल कारोबारमै अल्झिराखेमा डाइनोसर नै हुने उनको बुझाइ छ । नेपाल बैंकर संघका पूर्वअध्यक्ष एवं नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरतालाई स्कुल कलेज लेभलका करिकुलममा राख्न सबै लाग्नुपर्ने बताए । उनले डिजिटलाइजेसनमार्फत थालिएको वित्तीय साक्षरताले आउने दिनमा अर्को फड्को मार्ने बताए ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युम्न पोखरेलले बैंकवित्तबाट ग्राहकहरुलाई खाता खोल्ने मात्र नभई डिजिटल्ली ऋण लिने व्यवस्था पनि गर्न सकिने बताए । यसका लागि नयाँ फेमवर्क बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । लघवित्त बैंकर्स संघका अध्यक्ष बसन्त लम्सालले गाउँ–गाउँका नागरिकहरुलाई उद्यमशीलताको विकासका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

जीवन बीमक संघका कोषाध्यक्ष प्रविनरमण पराजुलीले सम्पूर्ण वित्तीय क्षेत्र डिजिटाइजेसनका रुपमा अगाडि बढ्न आवश्यक रहेको बताए । त्यसैगरी प्रभु टेक्नोलोजीका अध्यक्ष कुसुम लामाले आफ्नो कम्पनीले डिजिटाइजेसनका लागि महत्वपूर्ण काम गर्दै आएको बताए । उनले बैंक, वित्तीय सेवामा डिजिटाइजेसनको अनिवार्य आवश्यकता देखिएको जानकारी दिए ।

त्यसैगरी आईएमईका सीईओ सुमन पोखरेलले फाइनान्सियल सर्भिसलाई प्याकेजको रुपमा गाउँमा कसरी पु¥याउन सकिन्छ भनेर ध्यान दिनुपर्ने बताए । फाइनान्सियल डिजिटाइजेसनमार्फत डिजिटल कारोबार वृद्धि हुने उनको भनाइ थियो । नेपाल क्लियरिङ हाउसका सीईओ निलेशमान प्रधानले अहिले नेपालमा डिजिटाइजेसनमा प्रयोग भएका पूर्वाधारहरु अन्तर्राष्ट्रियस्तरकै पूर्वाधारहरु रहेको बताए ।

डिजिटाइजेसनमा काम गर्नका लागि इन्फास्ट्रक्चर, रेगुलेटरी फेमवर्क, सर्भिस प्रोभाइडरसँग डिजिटलमा जान कति अटोमेट छ भन्ने कुरा नै महत्वपूर्ण हुने बताए । एससीटी कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दीपेश मास्केले अहिले इन्टरनेट, मोबाइलको पहुँच, हातहातमा पुगेको भन्दै टेक्नोलोजीमा सबैलाई जोड्न आवश्यक रहेको बताए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्तले कोभिडका कारण डिजिटलको आवश्यकता झनै बढेको बताए ।

फाइनान्सियल डिजिटाइजेसन लिट्रेसी कार्यक्रमका कोअर्डिनेटर माधव निर्दोषले फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसीलाई सबै जिल्ला र स्थानीय तहमा सञ्चालन गरिने बताउँदै डिजिटल कारोबारविना अबको अर्थतन्त्र सम्भव नहुने भएरै यो अभियान सुरु गरिएको बताए ।

विगत छ वर्षदेखि नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेशनलले वित्तीय जागरण राष्ट्रिय अभियानमार्फत वित्तीय साक्षरता र बैंकिङ एक्स्पो कार्यक्रम सञ्चालन गर्दै आएको छ । फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी सोही कार्यक्रमको परिवर्तित नयाँ कार्यक्रम हो । सो कार्यक्रम विकट जिल्ला बझाङबाट सुरु गरिने भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया