Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसङ्क्रमितभन्दा निको हुने दर बढ्दै

सङ्क्रमितभन्दा निको हुने दर बढ्दै


काठमाडौँ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुने दर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार चार सय ७२ मा सङ्क्रमण पुष्टि भएको छ भने छ हजार नौ सय ५१ सङ्क्रमित निको भएका छन् ।

सोमबार १७ हजार नौ सय सात जनामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पीसीआर १२ हजार दुई र एन्टिजेन पाँच हजार नौ सय एक परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, स्वास्थ्य तथा जनसङख्यामन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार व्यवस्थाको पहल गर्ने बताएका छन् । मन्त्रालयले सोमबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने जानकारी दिए । निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसँगको छलफलबाट टुंग्याइने उनले बताए ।

‘हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौँ’, मन्त्री तामाङले भने, ‘हामी अध्ययनमा सफल भयौँ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौँ ।’

उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको जनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताए । मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकोले तयारी गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया