Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा चिनियाँ लगानी र कामदार सबैभन्दा बढी

नेपालमा चिनियाँ लगानी र कामदार सबैभन्दा बढी


काठमाडौँ ।
नेपालमा चिनियाँ लगानी तथा कामदार बढी देखिएको छ । पछिल्लो वर्षहरुमा चिनियाँ लगानीकर्ताहरुले नेपालको विभिन्न परियोजनाहरुमा लगानी वृद्धि गरेसँगै लगानी रकम बढेको हो । चालू आर्थिक वर्षको जेठ १४ सम्मको अवधिमा उनीहरुले नेपालको उद्योग क्षेत्रमा १८ अर्ब ९९ करोड लगानी उद्योग विभागबाट स्वीकृत गराएका छन्। विभागका अनुसार एक सय १४ वटा परियोजना सञ्चालन गर्न भन्दै उनीहरुले विभागबाट सो लगानी स्वीकृत गराएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनियाँ लगानी बढेको बताउँदै गर्दा यता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालमा चिनियाँ कामदार समेत बढेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालमा ९० भन्दा बढी विदेशी मुलुकका कामदार अर्थात् विशेष गरी प्राविधिकहरु रहेकोमा सबैभन्दा धेरै चिनियाँ अर्थात् पाँच हजार ८४ जना (४७७२ पुरुष र ३१२ महिला) चिनियाँ रहेका छन् ।

युरोप, एसिया, अफ्रिकालगायतका महादेशका नागरिकहरु नेपालमा विभिन्न पेशामा आबद्ध रहेको श्रम तथा सुरक्षाजन्य विभागका प्रवक्ता मणिनाथ गोपले बताए । ‘भारत, मलेसियादेखि अमेरिका, जर्मनी, दक्षिण अफ्रिका, घानालगायतका मुलुकहरुका नागरिक नेपालमा रही काम गरेका छन्’, उनले भने, ‘विदेशीहरु प्रायःजसो प्राविधिक क्षेत्र तथा शिक्षणलगायतका पेशामा आबद्ध भएका छन् ।’

त्यस्तै नेपालमा सञ्चालन भएका चिनियाँ लगानी तथा नेपाल र चीनसरकारको संयुक्त लगानी भएका परियोजनाहरुमा चिनियाँ प्राविधिक तथा कामदारहरु काम गर्ने गरेका छन् । माथिल्लो तामाकोशी, पोखरा क्षेत्रीय विमानस्थललगायतका आयोजनाहरुमा चिनियाँ प्राविधिक तथा कामदारहरु छन् । पोखार क्षेत्रीय विमानस्थलमा प्राविधिक र कामदार गरेर दुई सय जना चिनियाँ नागरिक रहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।

एक दशकको अवधिमा विभागबाट भारतले नौ अर्ब ७८ करोड, बेलायतले एक अर्ब ५५ करोड, अमेरिकाले एक अर्ब ३४ करोड, दक्षिण कोरियाले एक अर्ब २६ करोड, संयुक्त अरब इमिरेटस (यूएई)ले ४५ करोड लगानी स्वीकृत गराएका छन् । यस्तै श्रम विभागका अनुसार एक सय ७७ जना भारतीय, तीन सय ७० जना बेलायती, दुई सय २१ जना अमेरिकी नागरिकहरु समेत नेपालमा कार्यरत रहेका छन् । विभागकै तथ्यांकअनुरुप हालसम्म नेपालमा कार्यरत विदेशी श्रमिकको संख्या झण्डै १२ हजार छ । विदेशी श्रमिकहरु श्रम स्वीकृति लिएपछि मात्र नेपालमा काम गर्न पाउँछन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया