Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारले भटमास तेल आयात पनि रोक्दै

सरकारले भटमास तेल आयात पनि रोक्दै


विराटनगर
भारत सरकारको ध्यान पछिल्लो समय नेपालबाट भारतमा निर्यात हुनेगरेको प्रशोधित भटमासको तेलमा केन्द्रित हुनथालेको छ । सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीका अनुसार नेपालबाट निर्यात भइरहेको सोयाबिन तेललाई रोक लगाउनुपर्ने भन्दै भारतीय व्यवसायीहरूले त्यहाँको केन्द्र सरकारलाई दबाब दिन थालेका छन् ।

उक्त दबाबपछि केन्द्र सरकारको ध्यान अब नेपालबाट निर्यात हुने भटमासको तेल आयातलाई कसरी हुन्छ रोक्ने मनस्थितिमा पुगेको बताउन थालिएको छ । एक उद्योगीका अनुसार अहिले भारतमा रहेको वनस्पति घिउ उत्पादकहरूको संस्था सोल्भेन्ट एक्सट्रयाक्टर्स एसोसिएसनले केन्द्र सरकारलाई पत्र लेख्दै नेपालबाट भारतमा आयात हुने गरेको भटमासको तेलमा रोक लगाउन माग गरेको छ ।

भारतीय उद्योगीहरूले नेपालका उद्योगले भारतमा प्रशोधित तेल निर्यात गर्दा विशेषगरी पूर्वोत्तर भारतका तेल उद्योगहरू संकटमा परेको भन्दै भारत सरकारले पनि व्यवसायीका मागलाई सम्बोधन गर्ने आश्वासन दिएको छ । करिडोरका उद्योगीका अनुसार खासगरी भारतसँगको व्यापारघाटा कम गर्नेगरी नेपालले निकासी गर्दै आएका वस्तुमा भारतले विभिन्न बहानामा रोक लगाउने गरेको छ ।

चालू आर्थिक वर्षको १० महिनाको अवधिमा मात्र नेपालको निर्यात एक खर्ब आठ अर्ब नाघेको छ । उक्त निर्यातमा सोयाबिन तेलको भाग मात्रै ३५ अर्ब ७५ करोड रूपैयाँ छ । यो कुल निर्यातको झण्डै ३३ प्रतिशत हुनआउँछ ।

यसअघि २०७६ साल पुसमा नेपालबाट आयात हुने प्रशोधित पाम तेलमाथि भारतले रोक लगाएको थियो । मलेसियाबाट पामको कच्चा तेल आयात गरेर नेपालबाट प्रशोधित तेल भारत निर्यात हुनेगरेको थियो । ११ अर्ब रूपैयाँको नेपालबाट निर्यात हुनेगरेको उक्त पाम तेल निर्यातमा भारत सरकारले रोक लगाएसँगै नेपालमा पाम तेल उत्पादन गर्दै आएका उद्योगमा भएको लगानी खेर गएको थियो ।

लगानीकर्ता पाम तेलपछि भटमासको तेलको उत्पादनमा केन्द्रित भएको बेला भारतले सोयाबिन तेल आयातलाई पनि रोक लगाउने संकेत गरेको जानकारी भारतीय व्यवसायीबाट आएकाले अब फेरि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरू चिन्तित बन्न थालेको कुरा बताउन थालिएको छ । खाने तेलको ठूलो आयातकर्ता देश हुँदाहुँदै पनि भारतले नेपालबाट जाने सानो परिमाणको पाम तेल, सोयाबिन तेलजस्ता वस्तुको निर्यात रोकेर नेपालसँगको व्यापारमा आफ्नो असहिष्णु नियत प्रस्ट पारेको भनाइ यस करिडोरका उद्योगी तथा व्यवसायीको हो । जसले गर्दा भारतले भने आफ्ना उद्योगलाई संरक्षण गर्ने नाममा नेपालबाट हुने गरेको निर्यातमा नै रोक लगाउने प्रस्ट उद्देश्य रहेको दाबी उद्योगी तथा व्यवसायीको छ ।

नेपालसँगको व्यापारमा असाध्यै कडारूपमा प्रस्तुत हुँदै आएको भारतले नेपाल सरकारसँग उसको आवश्यकता पूर्ति हुने गरी नीतिगत व्यवस्थै गरेरै निकासीयोग्य वस्तुको पहिचान गर्ने र निर्यातको योजना बनाउने गरेको हुँदा समयमै सरकार सचेत हुन आवश्यक रहेको करिडोरका उद्योगी तथा व्यवसायीको भनाइ छ ।

एक उद्योगीका अनुसार खासगरी पछिल्लो समय सरकारले भारतसँगको व्यापारघाटा कम गर्न निकासीयोग्य वस्तुको रूपमा ढुंगा, गिट्टी, बालुवा भारतमा निकासी गर्ने नीतिगत व्यवस्था आगामी आर्थिक वर्षको बजेटमार्फत गरेपछि यसको रहस्य खुलेको छ ।

भारतमा ढुंगा, गिट्टी र बालुवा निकासी गर्ने नीतिले नेपालको व्यापारघाटा केही कम अवश्य होला । तर, यसले व्यापारघाटा कम गर्नेभन्दा पनि भारतलाई गुणस्तरीय खानीजन्य निर्माण सामग्रीको अभावलाई पूर्ति गर्ने लक्ष्य लिएको दाबी उद्योगी तथा व्यवसायीको छ । यस्तो नीतिगत व्यवस्था गर्न भारतको राज्य सरकार, केन्द्र सरकार र व्यापारीको पनि व्यापक दबाब रहेको बताउन थालिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया