Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराजस्व छली गर्ने विभिन्न कम्पनीका १० जनाविरुद्ध मुद्दा दायर

राजस्व छली गर्ने विभिन्न कम्पनीका १० जनाविरुद्ध मुद्दा दायर


काठमाडौं ।
राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छली गर्ने विभिन्न कम्पनीका १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले धरान उपमहानगरपलिका –१२ बस्ने ग्लोबल इम्पेक्स इन्टरनेसनलका प्रोप्राइटर किसन कुमार अग्रवाल, सोही ठाउँ बस्ने एसएन इन्टरनेसनलका प्रोप्राइटर राम निवास अग्रवाल, रूपन्देही सिद्धार्थनगर नगरपालिका –६ बस्ने श्याम कुमार बानिया र भारत घर भएका मनमोहन जयसवाल, पर्सा वीरगञ्ज महानगरपालिका – १९ बस्ने भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्र प्रसाद कलवारविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले ग्लोवल इम्पेक्स इन्टरनेसनलका प्रोप्राइटर किसन कुमार अग्रवाललाई चार करोड ४२ लाख सात हजार रूपैयाँ बिगो असुल गरी जरिबाना र कैद मागदाबी लिई आइतबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । उनले मालवस्तु स्थानीय खरिद तथा आयात नगरी, झुटा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक जारी गरी उक्त फर्महरूबाट बिक्री रकम भुक्तानी लिएका थिए । उनले सो बीजकमार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुटा बीजक उपलब्ध गराएको पाइएको विभागले जनाएको छ ।

उनले मूअकरतर्फ एक करोड २९ लाख ४० हजार र आयकरतर्फ तीन करोड १२ लाख ६७ हजार राजस्व चुहावट गरेको विभागले जनाएको विभागले जनाएको छ । यस्तै विभाले सोही ठाउँ बस्ने एसएन इन्टरनेसनलका प्रोप्राइटर राम निवास अग्रवालसँग चार करोड ५२ लाख ४२ हजार बिगो माग गरेको छ । उनी विरुद्ध पनि आईतबार नै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । राम निवास अग्रवालले मुअकरतर्फ एक करोड ३४ लाख ४२ हजार र आयकरतर्पm तीन करोड १८ लाख रूपैयाँ राजस्व चुहावट गरेका थिए ।

यस्तै विभागले रूपन्देही सिद्धार्थनगरका बानिया र भारतीय नागरिक जयसवाल पाँच करोड ५० लाख ८४ हजार बिगो माग गरी गत शुक्रबार उच्च अदालत तुलसिपुरमा मुद्दा दायर गरेको जनाएको छ । वानिया र जयसवालले नेपालको सिमानामा रही विदेशी मुलुकबाट नेपालमा पैठारी हुने मालवस्तुहरू भन्सार बिन्दुमा भन्सार जाँचपास नगराई राजस्व चुहावट मनसायले विभिन्न व्यक्ति तथा फर्महरूलाई मालवस्तु चोरी पैठारी गर्ने र अवैध बाटोबाट पैठारी गरिएका मालवस्तुको मूल्य हुण्डीमार्फत कारोबार गर्नेगरेका थिए ।

यसैगरी विभागले तिरूपति खाद्य तथा भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्र प्रसाद कलवार, ट्रक चालक सुनिल कुमार यादव, भन्सार एजेन्ट नम्बर १२५ का राममणी खनाल र उनको वीरगञ्ज भन्सार प्रतिनिधि अशोक कुमार श्रेष्ठविरुद्ध एक करोड २२ लाख ५० हजार रूपैयाँ बिगो जफत एवं असुल गरी जरिबाना र कैद सजाय मागदाबी गत वैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगञ्जमा मुद्दा दायर गरिएको थियो । विभागका अनुसार उनीहरूले अवैधरूपमा कपडाको कारोबार गर्ने गरेका थिए ।

बिल बीजक जारी नगरी आयकर छली गर्ने भारत स्थायी घर भई हाल काठमाडौँ–१४ कुलेश्वर बस्ने, सत्यनारायण प्रसादलाई पनि विभागले ३९ लाख ७५ हजार बिगो माग गरी गत शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जनाएको छ । सत्यनारायण प्रसादले कानूनी व्यवस्थाबमोजिम फर्म दर्ता नगरी कारोबार गर्दै आएका थिए ।

यस्तै रौतहत वृन्दावन नगरपालिका –६ बस्ने अमन कुमार तिवारीले भन्सार चोरी पैठारी गरी ४० लाख रूपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ । उनीविरुद्ध गत वैशाख २८ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरिएको थियो । तिवारीले भारतीय स्कारपियो गाडी भन्सार चोरीपैठारी गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ । राजस्व छली गर्ने व्यक्तिहरूविरुद्ध विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३ बमोजिम बिगो जरिबाना असुलउपर गरी जरिबाना र कैद सजाय मागदाबी गरिएको विभागले जनाएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया