Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकहिले हुन्छ मलेसिया र खाडीमा नियमित उडान ?

कहिले हुन्छ मलेसिया र खाडीमा नियमित उडान ?

आउन र जान चाहने युवाको संख्या धेरै हुँदा उडान खुला गर्नु आवश्यक छ : श्रम मन्त्रालय उडान खुला गर्न अत्यधिक माग भएकै कारण सीसीएमसीले आफ्नो निर्णयमा पुनर्विचार गर्छ भन्ने हाम्रो अपेक्षा छ : क्यान


काठमाडौं ।
कोभिड–१९ को बाबजुद पनि वैदेशिक रोजगारीमा जान चाहने युवाहरुको संख्या बढ्दो छ । नियमित अन्तर्राष्ट्रिय उडान स्थगनकै कारण युवाहरु मलेसिया तथा खाडीका मुलुक जान सकिरहेका छैनन् । यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख महिनामा मात्र २२ हजार पाँच सय ९२ जना युवाहरु मलेसिया तथा खाडी मुलुक जानको लागि तयारी अवस्थामा बसेको जनाएको छ ।

वैशाखमा मात्र आठ हजार चार सय छ जना साउदी अरब, सात हजार दुई सय ५० जना कतार, पाँच हजार सात सय तीन जना संयुक्त अरब इमिरेट्स, आठ सय २४ जना बहराइन, दुई सय ७८ जना ओमन, एक सय ३१ जना मलेसिया र २९ जना कुवेत जानका लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विदामा आएर तथा नयाँ श्रम स्वीकृति लिएर युवाहरु कामका लागि मलेसिया तथा खाडी मुलुकहरु जान चाहेका जानकारी आफूहरुलाई दैनिक आउने गरेको विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले बताए। ‘श्रम स्वीकृति लिएपछि तीन महिनाभित्र उडिसक्नुपर्ने हुनाले गर्दा पनि युवाहरु गन्तव्य मुलुक जान चाहनुभएको छ’, निर्देशक भट्टराईले आर्थिक दैनिकसँग भने, ‘मलेसिया तथा खाडी मुलुकमा उडान खोल्ने विषयमा सरकारले एक पटक सोच्नु आवश्यक छ अर्थात् व्यवस्थित तरिकाले खुलाउँदा उपयुक्त होला ।’

मलेसिया र खाडी मुलुक जान चाहने युवाको संख्या मात्र धेरै होइन उताबाट फर्किन चाहने युवाहरुको संख्या समेत हजारौं रहेको मन्त्रालयले जनाएको छ। श्रम कार्यालयहरुले निषेधाज्ञामा पनि पुनः श्रम स्वीकृति दिइरहेको छ। ‘नयाँ श्रम स्वीकृतिको लागि भौतिक रुपमा उपस्थित हुनुपर्ने हुँदा त्यो सम्भव नभएकै कारण हामीले नयाँ श्रम स्वीकृति दिनसकेका छैनौं’, उनले भने, ‘विदामा आएका तथा पुनः विदेश जान चाहनेको हकमा भने अनलाइनमार्फत पुनः श्रम स्वीकृतिको सेवा उपलब्ध गराएका छौँ ।’

यसैबीच नागरिक उड्डयन प्राधिकरणले भने मलेसिया तथा खाडी मुलुकमा गरिने उडानको विषयमा सरकारले चाँडोभन्दा चाँडो आफ्नो निर्णय सार्वजनिक गर्ने जनाएको छ । हाल पनि नियमित अन्तर्राष्ट्रिय उडानअन्तर्गत काठमाडौं–दोहा उडान भइरहेको हुँदा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मलेसिया तथा खाडी मुलुकमा उडान खुलाउनेबारे यसअघिको निर्णय पुनः मूल्यांकन गर्ने सम्भावना रहेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए।

चीन, कतार र टर्कीमा नियमित उडान खुला गरिसकेको अवस्थामा अन्य मुलुक अर्थात् माग भएको मुलुकमा उडान खुलाउने विषयमा सरोकारवाला निकायहरुले उचित निर्णय लिने हाम्रो बुझाइ छ’, प्रवक्ता क्षत्रीले आर्थिक दैनिकसँग भने, ‘विभिन्न मुलुकमा उडान खुला गरिदिन नागरिकहरुले हामीसमक्ष आग्रह गरेको अवस्थामा सरकारले सुरक्षित र व्यवस्थित तरिकाले उडान खुला गरे राम्रो हुने थियो ।’

यता वैदेशिक रोजगार विभागका अनुसार वैशाख महिनामा मात्रै हजारौँ युवाहरु जान चाहेको देखिन्छ । त्योभन्दा अघिल्ला महिनाहरुमा पनि करिब सो संख्यामै जान चाहने थिए । त्यसैले ती मुलुकहरुमा जान चाहने युवाहरुको संख्यामा कमी आउनेभन्दा पनि बढ्दै जाने निश्चित रहेको छ। कार्यालयहरुमा श्रम स्वीकृति लिने युवाहरु यसअघि पनि हजारौं रहेको जनाइएको छ।

पछिल्लो समय काठमाडौं–दोहा नेपाल एयरलाइन्स र कतार एयरवेजले नियमित उडान गरेको पाइन्छ । यसैबीच प्राधिकरणसमक्ष मलेसिया र खाडी मुलुकमा नियमित उडान खुला गर्नका लागि धेरै आग्रह आएको बताइएको छ। यता केन्द्रले भने अन्तर्राष्ट्रिय उडान खुला गर्ने विषयमा पुनः विचार गरिने जानकारी दिएको छ। पछिल्लो समय मलेसिया तथा खाडी मुलुकको उडान खुला गर्न माग आएको हुँदा सो विषयमा पुनर्विचार गरिने बताइएको छ।

केन्द्रका अनुसार मलेसिया र खाडी मुलुकबाट फर्किने नेपालीको संख्या मंगलबारसम्म झण्डै चार लाख छ । नियमित उडान खुला गरेसँगै ती मुलुकहरुबाट फर्किने नेपालीको संख्या समेत बढ्ने निश्चित छ । हाल फर्किएका अधिकांश नेपाली नागरिकहरु चार्टर विमानमार्फत हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया