Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य नहुने

विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य नहुने

सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति चाहिन्छ : राष्ट्र बैक


काठमाडौं ।
विदेशी लगानी भित्र्याउनको लागि अबदेखि नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति अनिवार्य नहुने भएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले मंगलबार विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार विदेशी मुद्रा भित्र्याउने स्वीकृति तथा लेखांकन गर्ने, विदेशी लगानी तथा सोबाट आर्जित रकम फिर्ता लैजाने, विदेशी ऋणको स्वीकृति, विदेशी ऋणबापत विदेशी मुद्रा भित्र्याउने तथा सोको लेखांकन गर्ने र विदेशी ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि विदेशी मुद्राको सटही प्रदान गर्नेलगायतका विषयहरूलाई व्यवस्थित तथा सहजीकरण गरी विदेशी लगानी आकर्षित गर्न एवम् आर्थिक क्रियाकलापहरू सहजरूपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न वाञ्छनीय भएकोले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली जारी गरी कार्यान्वयनमा ल्याएको हो ।

यो विनियमावलीअनुसार विदेशी लगानी हुने कम्पनी तथा उद्योगमा कम्पनी तथा उद्योगको दर्तालगायतका सम्भाव्यता अध्ययन खर्च र पूर्वसञ्चालन खर्चबापतको विदेशी मुद्रा इच्छुक विदेशी लगानीकर्ताले बैंकिङ प्रणालीमार्फत नेपाल पठाउन अथवा भित्र्याउन विदेशी लगानीको पूर्वस्वीकृति वा राष्ट्र बैंकको स्वीकृति अनिवार्य हुनेछैन । यसअन्तर्गत उप–विनियम (१) बमोजिमको रकम विदेशी लगानी हुने कम्पनी तथा उद्योगको कायम हुने चुक्ता पुँजीको तीन प्रतिशतमा नबढ्ने गरी लेखापरीक्षकबाट खर्च प्रमाणित गरेबमोजिम विदेशी लगानीमा गणना गर्न सकिनेछ र सोको लेखांकन विनियम ५ बमोजिम गराउनुपर्नेछ । ‘तर, विदेशी लगानी हुन नसकेको खण्डमा वा विदेशी लगानीमा गणना भएको रकमभन्दा बढी रकम भएमा त्यस्तो रकम फिर्ता पठाउन सकिनेछैन’, विनियमावलीमा भनिएको छ ।

यसैगरी उप–विनियम (१) बमोजिमको रकम बैंक तथा वित्तीय संस्थाले इच्छुक विदेशी लगानीकर्ता वा निजको आधिकारिक स्थानीय प्रतिनिधिको खातामा जम्मा गरिदिन सक्नेछ । उक्त रकम जम्मा गरिदिन इच्छुक विदेशी लगानीकर्ता र निजको आधिकारिक स्थानीय प्रतिनिधि भए निजबाट बैंक तथा वित्तीय संस्थाले अनुसूची–१को ढाँचामा निवदेन लिनुपर्नेछ ।

विनियमावलीअनुसार विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन अनिवार्य हुनेछैन । तर, विदेशी लगानी स्वीकृत भएपश्चात् विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व, अनुसूची–२ को ढाँचामा एकाइमा लिखित जानकारी दिनुपर्नेछ ।

यसैगरी नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको एकीन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ । सेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग, कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजात साथ एकाइमा निवेदन पेश गर्नुपर्नेछ ।

यसरी राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त गरेको विदेशी लगानीबापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले एकीन गरी सम्बन्धित उद्योग तथा कम्पनीको खातामा जम्मा गर्नेछ ।

विनियमावलीअनुसार विदेशी लगानीको सेयर बिक्रीबाट प्राप्त रकम, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांशबापतको रकम, उद्योग वा कम्पनी खारेजी वा लिक्विडेसनमा गएकोमा खारेजी वा लिक्विडेसनपश्चात् सम्पूर्ण दायित्व चुक्ता गरी बाँकी रहन आउने रकम, प्रविधि हस्तान्तरण सम्झौताअन्तर्गत प्राप्त लाभ (रोयल्टी) बापतको रकम, तर, शतप्रतिशत मदिरा निकासी गर्ने मदिराजन्य उद्योगबाहेक अन्य मदिराजन्य उद्योगमा हुने प्रविधि हस्तान्तरणअन्तर्गतको ट्रेडमार्क उपभोग हुनेबापतको रोयल्टी वा शुल्कको हकमा त्यस्तो लाभबापतको रकम विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ बमोजिम हुनेछ ।

लिज लगानीअन्तर्गत लिज भाडा (लिज रेन्ट) रकम, (च) नेपालमा चलेको मुद्दा, मध्यस्थता वा अन्य कुनै कानुनी प्रक्रियाको अन्तिम व्यवस्थापनबाट प्राप्त गरेको कुनै हर्जना वा क्षतिपूर्तिबापतको रकम प्रचलित कानुनबमोजिम फिर्ता लैजान पाउनेछ ।

राष्ट्र बैंकका अनुसार प्रचलित कानुनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले नेपाल बाहिरबाट अनुसूची–१० मा उल्लिखित व्यवस्थाको अधीनमा रही भारतीय रुपैयाँ वा परिवत्र्य विदेशी मुद्रामा ऋण लिनुपरेमा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया