Techie IT
×
गृहपृष्ठसमाचार‘बजेटका सबै कार्यक्रमहरू कार्यान्वयन हुन्छन्’

‘बजेटका सबै कार्यक्रमहरू कार्यान्वयन हुन्छन्’


काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लिखित सबै कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । अनेरास्ववियु नेपालको ध्यानाकर्षणपत्र बुझ्दै उनले बजेटप्रति कुनै द्विविधा र अन्योल नराख्न आग्रह गरे ।

पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रुत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालू आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी समेत दिए । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरू पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरिसकेको बताए ।

साथै पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसहरूको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १५ सय सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिए । अनेरास्ववियुका पदाधिकारीहरूले गत चैत्र २५ गते बुझाएको ध्यानाकर्षणपत्रको महत्वपूर्ण बुँदाहरूले बजेटमा सम्बोधन गरेको भन्दै उपप्रधान तथा अर्थमन्त्रीलाई धन्यवाद दिएका थिए ।

अनेरास्ववियुले बजेटमा स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत ब्याजदरमा २५ लाख रूपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने, सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका सबै बालबालिकालाई दिवाखाजा कार्यक्रम सञ्चालन गर्नेलगायतका कार्यक्रमहरू आएको भन्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ ।

यस्तै सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पु¥याउने उद्देश्यका साथ एक थान ल्यापटप खरिद गर्न ८० हजार रूपैयाँसम्म दुई वर्ष अवधिको एक प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने व्यवस्था र १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई एक थान सिमकार्ड निःशुल्क उपलब्ध गराउनेलगायतका कार्यक्रम यथाशीघ्र लागू गर्न माग गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया