Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालमा तत्काल खोप ल्याउन जटिल

नेपालमा तत्काल खोप ल्याउन जटिल


काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले नेपालमा तत्काल खोप ल्याउन प्रशस्तै जटिलता रहेको बताएका छन् । यद्यपि सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको बताए । विभिन्न मुलुकहरूसँग खोपका लागि समन्वय भइरहेको भए पनि खोपको उपलब्धतालगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने उनको भनाइ छ । गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा उनले खोप खरिदका लागि कुनै व्यावहारिक समस्या नभए पनि खोप निर्माण भइरहेका मुलुकहरू आफैँ महामारी नियन्त्रणमा केन्द्रित भएकोले समस्या परेको बताए ।

बेलायत अमेरिकालगायतका मुलुकले खोप उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत भने मिलेको उनले बताए । यस्तै उनले अक्सिजन कन्सन्ट्रेटर, सिलिन्डरलगायतका अन्य अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल पठाउन विदेशस्थित नेपाली समुदायले देखाएको तदारुकताको प्रशंसा गर्दै आगामी दिनमा खोप खरिदलगायतका अन्य विषयमा पनि गैरआवासीय नेपाली संघसँग सहकार्य जारी राख्ने बताए ।

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले महामारीका समयमा देशमा उपलब्ध स्रोत साधन मात्रै पर्याप्त नहुने भएकोले सबै नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए । महामारीका समय नेपालीलाई बचाउने अभियानमा संलग्न सबैको योगदान स्वर्ण अक्षरमा लेखिने र यसको उच्च मूल्यांकन हुने उनको भनाइ थियो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग सहकार्य गरेर खोप नेपालमा पठाउन संघ तयार रहेको बताए । साथै उनले खोप खरिदका लागि सरकारलाई प्रस्ताव समेत गरेको बताए । यस्तै उनले विदेशमा विचल्लीमा परेका नेपालीहरूको उद्धारको लागि सरकारले नयाँ नीति बनाउनुपर्नेमा जोड दिए । विश्व श्रमबजारमा रहेका नेपालीमा भोकमरीको समस्या आउनसक्ने बताउँदै उनले सरकारले तत्काल नेपाल फर्किनको लागि वातावरण बनाउनुपर्नेमा जोड दिए ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले महामारीसँग लडाइँ लड्नका लागि अरुको अनुदान र सहयोगको मात्रै भर पर्नुपरेको भन्दै त्यस्तो अवस्थाको अन्त्य गरेर नेपाललाई ‘माग्ने होइन दिने’ देशका रूपमा परिणत गर्नुपर्नेमा जोड दिए । संघका पूर्वअध्यक्ष जीवा लामिछानेले फाउण्डेसनले नेपालमा सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापनाको काम अघि बढाएको जानकारी दिए । उनले पहिलो चरणमा चारवटा अक्सिजन प्लान्ट र बाँकी तीनवटा प्लान्ट दोस्रो चरणमा स्थापना गर्नेगरी काम अघि बढेको बताए ।

संघका उपाध्यक्ष डा. बद्री केसीले चीनमा रहेका नेपालीहरूको सहयोगमा स्वास्थ्य सामग्री नेपाल पठाइएको र अन्य चरणमा क्रमशः सामग्री पठाउने तयारी भइरहेको बताए । तत्कालका लागि स्वास्थ्य सामग्री मात्रै नभई खोप नेपाल पठाउन आफूहरूले गर्न सकिने सबै खाले पहल थाल्न ढिलो गर्नुनहुने डा. केसीको भनाइ थियो । गैरआवासीय नेपाली संघ यूकेकी अध्यक्ष पुनम गुरुङले बेलायतका ९३ वटा संघसंस्था र ४४ जना व्यक्तिबाट अक्सिजन कन्सनट्रेटर किन्नको लागि दुई करोड ५० लाख रूपैयाँको प्रतिबद्धता आएको जानकारी दिइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया