Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाबाट युवा सबैभन्दा बढी संक्रमित

कोरोनाबाट युवा सबैभन्दा बढी संक्रमित

उपत्यकामा अझै साढे १८ हजार बढी कोरोनाका सक्रिय संक्रमित


काठमाडौं ।
पछिल्लो समय नेपालमा वृद्धभन्दा युवाहरुमा कोरोना संक्रमण बढेको छ । वृद्धहरुले कोभिड–१९ विरुद्धको खोप पाएको कारण संक्रमणको संख्या घट्नपुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा बढी अर्थात् सात सय ८५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, दोस्रोमा २१ देखि ३० वर्ष उमेर समूहका सात सय ५८ जना, ४१ देखि ५० वर्ष उमेर समूहका पाँच सय ८७ जना, ५१ देखि ६० वर्ष उमेर समूहका चार सय ६८ जना, ११ देखि २० वर्ष उमेर समूहका दुई सय ८४ जना, ६१ देखि ७० वर्ष उमेर समूहका दुई सय ३६ जना, ७१ देखि ८० वर्ष उमेर समूहका एक सय ४४ जना, दश वर्षसम्मका एक सय १९ जना, ८० वर्ष उमेरमाथिका ६४ जना र उमेर नखुलेका चार जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

४१ देखि ८० वर्ष वा सोभन्दा माथिका उमेर समूहमा कोरोना संक्रमण कम हुनाको मुख्य कारण नै कोरोनाविरुद्धको खोपका प्रभावकारिता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले वृद्ध उमेरकालाई कोरोनाविरुद्धको खोप लगाउन उच्च प्राथमिकता दिएको छ । अहिले चीन सरकारले दिएको खोप पनि ६० वर्षमाथिकालाई लगाइएको कारण वृद्ध उमेर भएकाहरुमा संक्रमण अझै घट्ने सरकारी अनुमान छ । २१ देखि ४० वर्ष उमेर समूहमा सबैभन्दा बढी संक्रमण देखिनुमा उक्त समूहका युवाहरु धेरै चलखेल गर्ने र विभिन्न पेशा तथा व्यवसायमा नलागेकाहरुले कोरोनाविरुद्धको खोप नै लगाउन पाएका छैनन् ।

सरकारले सबै विभिन्न देशबाट खोप मगाएको छ भने खरिद गर्ने पनि तयारी गरेको छ । खोप ल्याएर १८ वर्षमाथिका सबैलाई चाँडै लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले भर्चुअल पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

संक्रमित पनि धेरै जनसंख्या भएको ठाउँमा धेरै नै छन् । काठमाडौं उपत्यकामा अझै पनि साढे १८ हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार बुधबारसम्म १८ हजार छ सय २८ जना सक्रिय संक्रमित छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ११ हजार ८५ जना, ललितपुरमा चार हजार तीन सय २० जना र भक्तपुरमा तीन हजार दुई सय २३ जना कोरोनका सक्रिय संक्रमित छन् । बुधबार मात्रै काठमाडौं जिल्लामा थप छ सय ७९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुधबार १६ हजार छ सय १५ जनाको कोरोना परीक्षण गर्दा चार हजार तीन सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार पाँच हजार सात सय ६८ जना संक्रमणबाट मुक्त भएको सरकारी तथ्यांक छ । संक्रमण भएको दश दिनपछि परीक्षण नगरे पनि सरकारले संक्रमणमुक्त भएको सूचीमा राखेर सार्वजनिक गर्दै आएको छ ।

हालसम्म काठमाडौंमा एक लाख ८३ हजार सात सय २३ जना, भक्तपुरमा १७ हजार छ सय नौ जना र ललितपुरमा ३० हजार सात सय तीन जना निको भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा दुई हजार पाँच सय ८२ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यसमा पनि सबैभन्दा धेरै काठमाडौं जिल्लामा एक हजार सात सय ३५ जना, भक्तपुरमा तीन सय ४७ जना र ललितपुरमा पाँच सय जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

बुधबार देशभर ८१ जनाको कोरोनाको कारण मृत्यु भएको थियो । उक्त तथ्यांकसहित नेपालमा बुधबारसम्म आठ हजार एक सय ७९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।पछिल्लो समयमा नेपालमा कोरोनालाई परास्त गर्नेहरुको संख्यामा वृद्धि भएको छ । बुधबारसम्म निको हुनेको दर ८५ दशमलव दुई प्रतिशत छ । नेपालमा बुधबारसम्म पाँच लाख १० हजार दुई सय ९८ जनाले कोरोना संक्रमण जितेका छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया