Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना जित्ने बढे

कोरोना जित्ने बढे


काठमाडौं ।
बिहीबार १५ हजार दुई सय ९३ जनाको परीक्षण गर्दा तीन हजार सात सय ४९ जनालाई मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पाँच हजार दुई सय ९३ जना संक्रमणबाट मुक्त भएका छन् । यो तथ्यांकले पछिल्ला दिनमा नेपालमा कोरोना जित्ने बढेको देखिन्छ । नेपालमा कोरोनाको निको हुनेको दर पनि ८५ दशमलव सात प्रतिशत पुगेको छ ।

सहरी क्षेत्रमा कोरोना संक्रमणमा कमी आए पनि ग्रामीण भेगमा कोरोना फैलिएको सरकारी तथ्यांकले नै देखाएको छ । अझ कर्णाली प्रदेशमा त परीक्षण गरिएकामध्ये ४२ प्रतिशतभन्दा बढीमा कोरोना देखिएको छ । सरकारले गाउँगाउँमा परीक्षण दर नबढाएसम्म कोरोना संक्रमितको वास्तविक तथ्यांक आउन कठिन हुने देखिएको छ । बिहीबारसहित नेपालमा कोरोनाबाट आठ हजार दुई सय ३८ जनाको मृत्यु भइसकेको छ ।

महानगरमा १८ हजारले लगाए खोप : यस्तै, काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम सुरु गरेको हो ।

महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार एक सय १३ सहभागी भएको महानगरले जनाएको छ । खोप अभियानको पहिलो दिन आठ हजार सात सय ४७ सहभागी भएका थिए भने दोस्रो दिन नौ हजार तीन सय ६६ सहभागी भएका थिए ।

पहिलो दिन चार हजार चार सय १९ पुरुष र चार हजार तीन सय २८ महिला सहभागी थिए । दोस्रो दिन चार हजार आठ सय ९३ पुरुष र चार हजार नौ सय ८४ महिला सहभागी भएको पनि विभागले जानकारी दिएको छ । महानगरपालिकाले खोप लगाउने कार्यसञ्चालन गर्दा भीड नियन्त्रण गर्न भन्दै हरेक दिन फरक–फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो । सोअनुसार कामपाले खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई एक दिन खोप दिने कार्यक्रम तय गरेको हो । खोप कार्यक्रम यही जेठ २९ गतेसम्म सञ्चालन हुनेछ ।

खोप लगाए कारबाही : लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कारबाही गर्ने भएको छ । भेरोसेल खोप ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरिएकामा अन्यले पनि लगाएको गुनासो आएपछि प्रशासन कार्यालयले कारबाही गर्ने जनाएको हो । यसबारे जिल्लाका सबै स्थानीय तहलाई खोपलक्षित वर्गका व्यक्तिलाई लगाउन सहयोग गर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिएका छन् । प्रजिअ महतोले जारी गरेको सूचनामा स्वास्थ्य कार्यालयबाट आएको विवरणका आधारमा कारबाही गरिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकसँगै छुटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, मेडिकल कलेजका विद्यार्थीलाई समेत खोप लगाइने भएपछि गैरलक्षित समूहका व्यक्ति पनि खोप लगाउन पुगेका छन् । गैरलक्षित समूहका व्यक्तिका कारण ज्येष्ठ नागरिक खोप केन्द्रमा खोप लगाउन असहज अवस्था देखिएको छ ।

लक्षित समूहका व्यक्तिसँगै उनीहरूका आफन्त पनि केन्द्रमा आउँदा समस्या देखिएको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लाका सबै स्थानीय तहमा मङ्गलबारदेखि ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो । खोप तीन दिनसम्म लगाइनेछ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया