Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसरकारको लागि राष्ट्र बैंकले साढे दुई खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने

सरकारको लागि राष्ट्र बैंकले साढे दुई खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने


काठमाडौं ।
आगामी आर्थिक वर्षमा सरकारको लागि नेपाल राष्ट्र बैंकले दुई खर्ब ५० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सरकारले आगामी आवको लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँँको बजेट विनियोजन गरेको छ । उक्त बजेटको स्रोतप्राप्तिको रुपमा राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड, वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।

पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा पाँच खर्ब ५९ अर्ब ३० करोड रुपैयाँ न्यून हुने देखिन्छ । यही न्यून हुन आएको रकममध्ये तीन खर्ब नौ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋणबाट उठाउने लक्ष्य लिएको छ । ‘त्यसबाट पनि बाँकी रहेको दुई खर्ब ५० अर्ब रुपैयाँ भने आगामी आवको लागि घोषित बजेटअनुसार नै राष्ट्र बैंकले आन्तरिक ऋणको रुपमा उठाउँछ’, राष्ट्र बैंकका उच्च अधिकारीले भनेका छन्, ‘यसको लागि अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिलहरु, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र लगायतका मौद्रिक उपकरणहरु बिक्री गर्ने तयारी गरेको र यसरी उठाइने आन्तरिक ऋण तालिका भने आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएलगत्तै सार्वजनिक गरिनेछ ।’

चालू आर्थिक वर्षमा पनि राष्ट्र बैंकले सरकारको लागि कुल दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको राष्ट्र बैंकका ती अधिकारीको भनाइ छ । सरकारले चालू आर्थिक वर्षको लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । उक्त बजेटको स्रोतको प्राप्तिको रुपमा राजस्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड व्यहोर्दा पाँच खर्ब २४ अर्ब ५० करोड रुपैयाँ न्यून देखिएको थियो ।

न्यून देखिएको उक्त रकम पूर्ति गर्नको लागि सरकारले चालू आर्थिक वर्षको लागि वैदेशिक ऋणबाट दुुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ उठाएको छ । यसबाट पनि नपुग भएको रकमको लागि सरकारको तर्फबाट राष्ट्र बैंकले दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण आन्तरिक ऋण उठाएको राष्ट्र बैंकका ती अधिकारीले भनेका छन् ।

चालू आर्थिक वर्षको लागि उठाएको दुुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋणको लागि पनि अल्पकालीन तथा दीर्घकालीन अवधिका ट्रेजरी बिल, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्र लगायतका मौद्रिक उपकरणहरु बिक्री गरिएको राष्ट्र बैंकका ती अधिकारीले बताएका छन् ।

चालू आव सकिन अझै केही समय बाँकी रहेकाले घोषित कार्यतालिकाअनुसार यही असार मसान्तसम्म तोकिएको परिमाणमा आन्तरिक ऋण उठाइसक्ने उनले बताए । चालू आवको लागि उठाइने कुुन आन्तरिक ऋणमध्ये पहिलो चौमासिकमा ५७ अर्ब, दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासिकमा एक खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैंकका ती अधिकारीले बताए ।

Open Photo


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया