Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारयांग्री र लार्के खोलाको पानी मेलम्चीमा थप्ने कार्य तत्काल सुरु गर्न निर्देशन

यांग्री र लार्के खोलाको पानी मेलम्चीमा थप्ने कार्य तत्काल सुरु गर्न निर्देशन


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यांग्री र लार्के खोलाको पानी मेलम्चीमा थप्ने कार्य तत्काल सुरु गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार खानेपानी मन्त्रालय तथा मेलम्ची खानेपानी आयोजनासम्बन्धी अद्यावधिक जानकारी लिएपछि उनले मेलम्चीको आवश्यक परीक्षणसँगै यांग्री र लार्के खोलामा समेत तत्काल कार्य सुरु गर्न निर्देशन दिएका हुन् ।

हाल मेलम्चीबाट न्यूनतम प्रतिदिन १७ करोड लिटर पानी आइरहेको छ । यसमा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेका यांग्री खोलाबाट १७ करोड लिटर र लार्के खोलाबाट थप १७ करोड लिटर थपिएपछि राजधानीमा कुल ५१ करोड लिटर पानी झार्न सकिन्छ । यसबाट उपत्यकामा पछि थप हुनजाने जनसंख्यालाई पनि पानी आपूर्ति गर्न सकिने अवस्था छ । प्रधानमन्त्रीले दुवै खोलाबाट पानी ल्याउनका लागि आवश्यक गृहकार्य थाल्न तथा त्यसका लागि आवश्यक प्रशोधन प्लान्टको कार्यसमेत तत्कालै थाल्न दिर्देशन दिएका हुन् ।

राजधानीवासीको लामो समयदेखिको सपना पूरा गर्दै गत चैत २१ गतेदेखि औपचारिक रूपमा मेलम्चीको पानी वितरण थालिएको थियो । प्राविधिक आवश्यकताअनुसार अब सुरुङको पानी पूरै खाली गरेर कुनै समस्या आए÷नआएको जाँच गर्ने र त्यसपछि फेरि पानी पठाउन थालिनेछ ।

दुई महिना मेलम्चीको पानी नआउने : काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्नेभएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो । समितिले बिहीबार एक सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र वाग्मती नदीमा समेत पानीको बहाब बढ्नसक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ । ती नदीकिनारमा नजाने र जानै परेमा विशेष सावधानी अपनाएर जान भनिएको छ ।

सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षापहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्नेछ । त्यस अवधिका लागि हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पुरानै संरचनाअनुसार पानी वितरण गरिनेछ । आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरु गरेको थियो । परीक्षण सुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया