Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशबाट फर्किए साढे चार लाख बढी नेपाली

विदेशबाट फर्किए साढे चार लाख बढी नेपाली

फर्किएका अधिकांश रोजगारी गुमाएका र विद्यार्थी


काठमाडौं ।
कोभिड १९ कै कारणले गर्दा विदेशका विभिन्न मुलुकमा रहेका साढे चार लाखभन्दा बढी नेपालीहरु स्वदेश फर्किएका छन् । शुक्रबारसम्म विदेशमा रहेका चार लाख ६३ हजार चार सय १४ जना नेपाली फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको छ । फर्किनेमा अधिकांश रोजगारी गुमाएका छन् भने सीमित अध्ययन र अन्य प्रयोजनका लागि विदेशमा रहेका नेपालीहरु रहेका केन्द्रका अधिकारीहरुको भनाइ छ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने क्रममा सबैभन्दा धेरै श्रम गन्तव्य मुलुक छवटा खाडीका देशसहित मलेसिया, चीन, भारत, दक्षिण कोरिया लगायतका मुलुक रहेका छन्  ।

केन्द्रका अनुसार संयुक्त अरब इमिरेट्सबाट एक लाख ४२ हजार तीन सय ९१ जना, कतारबाट एक लाख आठ हजार चार सय पाँच, साउदी अरबबाट (रियाद, जेद्दा) ४२ हजार तीन सय छ, कुवेत २३ हजार नौ सय ३८, ओमानबाट पाँच हजार पाँच सय १४ र बहराइनबाट एक हजार तीन सय ५५ जनाको उद्धार गरी स्वदेश ल्याइएको छ ।

खाडीका मुलुकहरु नेपाली युवाहरुको लागि श्रम गत्तव्य मुलुक भएको हुँदा त्यहाँ बाक्लो संख्यामा नेपालीहरु रहेका छन् । कोभिडका कारण नेपाली युवाहरु कार्यरत खाडीस्थित कम्पनीहरु बन्द, आर्थिक संकटलगायतका समस्या परेसँगै उनीहरु बेरोजगार बन्नपुगेको अवस्थाका कारण स्वदेश फर्किनु अन्तिम विकल्प थियो भने सोही क्रममा सरकारले उनीहरुलाई उद्धार गरी स्वदेश ल्याएको हो ।

खाडी मात्र नभई एसिया, युरोप र अफ्रिकालगायतका मुलुकमा कार्यरत नेपालीहरु समेत बेरोजगारी भएकै कारण स्वदेश फर्किनुपर्ने अवस्था आएको हो । सोही क्रममा मलेसियाबाट ४९ हजार तीन सय ५२, भारतबाट ३७ हजार पाँच सय ३७, टर्कीबाट १४ हजार ९५, जापानबाट १३ हजार सात सय ६३, सिंगापुरबाट पाँच हजार छ सय सात, दक्षिण कोरियाबाट तीन हजार छ सय ७५ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्यस्तै चीनबाट तीन हजार छ सय १४ जना, हङकङ र मकाउबाट तीन हजार एक सय ६४ जना, बंगलादेशबाट दुई हजार छ सय छ जना, अष्ट्रेलियाबाट एक हजार दुई सय ४४ जना, माल्दिभ्सबाट एक हजार १८ जना, अमेरिकाबाट छ सय १८ जना, ग्रिसबाट ३९ जना, दक्षिण सुडानबाट आठ जना र इथोपियाबाट पाँच जना नेपालीको उद्धार गरी स्वदेश ल्याइएको छ । बाँकी अफगानिस्तान, इराक, नर्वे, फ्रान्स, जर्मनी, सोमालियालगायत गरी ६० मुलुकमा रहेका नेपालीहरु हुन् ।

केन्द्रले उद्धारको क्रममा छिमेकी मुलुक भारत र चीनमा रहेका नेपालीहरु समेत स्वदेश ल्याएको हो । उनीहरुलाई अन्तर्राष्ट्रिय नियमित उडान स्थगन हुन पुग्दा चार्टर उडानमार्फत स्वदेश ल्याइएको अधिकारीहरुको भनाइ छ । विदेशबाट रोजगारी गुमाएर युवाहरु फर्किएको भए पनि उनीहरुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकारले ध्यान दिएको पाइँदैन ।

अर्कोतर्फ सरकारले आगामी आर्थिक वर्ष (२०७८/०७९)को लागि १३ अर्ब ६५ करोड रुपैयाँ रोजगार तथा श्रम क्षेत्रमा विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षभन्दा करिब २३ अर्ब रुपैयाँ कम हो । त्यसैले गर्दा आगामी दिनमा मुलुकको रोजगारी क्षेत्रमा थप चुनौती देखिने निश्चित छ । त्यस्तै, सरकारले केन्द्रको कामकारबाहीलाई थप गतिशील बनाउनको लागि भन्दै जेठ पहिलो साताबाट अवकाशप्राप्त रथी बालानन्द शर्मालाई केन्द्रको जिम्मेवारी दिएको छ । केन्द्रले उद्धार कार्यलाई निरन्तरता दिने बताएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया