Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिडले असर पारेको आर्थिक नोक्सानीको पूर्तिका लागि सबै मुलुकबीचको सहकार्य आवश्यक

कोभिडले असर पारेको आर्थिक नोक्सानीको पूर्तिका लागि सबै मुलुकबीचको सहकार्य आवश्यक


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले कोरोना महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताएका छन् । यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्य अति आवश्यक रहेको उनले बताए ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औं बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट सम्बोधन गर्दै उनले कोरोना महामारीको पीडा सम्पूर्ण विश्वले नै भोग्नुपरेको बताए । संघईले नेपालमा पनि गतवर्षबाट संक्रमण फैलिन सुरू भएको र त्यसलगत्तै सरकारले देशव्यापी रुपमा लगातार तीन महिनाभन्दा बढी बन्दाबन्दी गरेको बताए ।

बन्दाबन्दीले सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुनगई ठूलो नोक्सानी व्यहोर्नु परेको भन्दै उनले यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशकयता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको बताए ।

कुल गार्हस्थ्य उत्पादन घटेको, लाखौँको रोजगारी गुमेको र गरिबीको प्रतिशत बढेको उनले उल्लेख गरे । महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको उनको भनाइ थियो । निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महसुस गरी सरकारसँग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको सभापति संघईले बताए ।

यस्तै मुलुकमा असल श्रम सम्बन्धको प्रवर्द्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न रोजगारदाताले ट्रेड युनियनसँगको संवादलाई महत्व दिएको उनले बताए । लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको कुरा उल्लेख गर्दै उनले परिवर्तित सन्र्दभमा सूचना प्रविधिको बढ्दो प्रयोग, काम गर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रमबजार र श्रमसम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयाँ सीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरे ।

साथै उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता रहेकोमा पनि जोड दिए । सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रणको सबलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दिगोपनमा केन्द्रित रहेको उल्लेख गर्दै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवर्द्धनमा प्राथमिकता दिई काम गरिरहेको जानकारी गराए । रोजगारदाताले तय गरेका कार्यक्रमहरु सञ्चालन गर्न आईएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा समेत गरे ।

एक सय ७६ भन्दा बढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आईएलओ बैठक जुन ३ देखि १८ सम्म सञ्चालन हुनेछ । श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनरुत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम संगठन शताब्दी घोषणाको कार्यान्वयनलगायतका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया