Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएउटा रेल सम्पन्न अर्को २० प्रतिशत बाँकी

एउटा रेल सम्पन्न अर्को २० प्रतिशत बाँकी


प्रवीण राउत
काठमाडौं, माघ ५
नेपाल–भारत अन्तर्देशीय सञ्चालन हुने रेलवे सेवाको लागि रेल निर्माणकार्य करिब अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय रेल विभागले नेपाल र भारतमा सञ्चालन हुने रेलको निरीक्षण गरेको थियो । सोही क्रममा दुईवटामध्ये एउटा रेल सेट शतप्रतिशत निर्माण भएको र अर्को निर्माणाधीन रहेको रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलाराम मिश्रले अन्तर्देशीय अर्थात् नेपाल र भारतमा सञ्चालन हुने दुई सेट रेलमध्ये एउटा सेट शतप्रतिशत निर्माण भएको छ भने अर्को रेल सेट निर्माणको अन्तिम चरणमा पुगेको बताए । ‘दुईवटा सेटमध्ये एउटा तयारी अवस्थामा छ’, उनले भने, ‘अर्को रेल सेट ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । तयारी अवस्थामा रहेको रेल सेट भने पूर्वाधार निर्माणपछि परीक्षण गरिनेछ ।’

केही समयअघि विभागको चार सदस्यीय टोलीले निर्माणाधीन रेलको निरीक्षण गरेको उनले जानकारी दिए । ‘मेरै नेतृत्वमा चार सदस्यीय टोली निर्माणाधीन रेलेको निरीक्षणको लागि चेन्नाई पुगेका थियौँ’, उनले भने, ‘चेन्नाईस्थित इन्ट्रिग्रिल कोच कम्पनीले नेपालमा सञ्चालन गरिने रेल निर्माण गर्दै छ ।’ कम्पनीसँग भएको सम्झौताअनुरुप हाल २० प्रतिशत भुक्तानी गरेको उनले आर्थिक दैनिकलाई बताए । ‘कुल ८५ करोड ६५ लाख मूल्य रहेको सो रेलको हामीले २० प्रतिशत अर्थात् करिब १७ करोड रुपैयाँ भुक्तानी गरेका छौं’, उनले भने, ‘बाँकी ८० प्रतिशत रकम भने रेल लिएसँगै भुक्तानी गर्नेछौँ ।’

सम्झौताअनुरुप २०२० मे १० मा रेल नेपाली पक्षलाई हस्तान्तरण गर्नुपर्ने उनले बताए । ‘तर कम्पनीले मे १० अघि नै रेल दिने तयारी गरेको छ’, उनले भने । मार्चमा रेल परीक्षण गरी नेपाली पक्षलाई वा विभागलाई कम्पनीले रेल दिएसँगै नेपालमा रेल सञ्चालन हुन सक्ने छ । जीटुजी मोडेल अर्थात् नेपाल सरकार र भारत सरकारले दुई देशबीच रेल सञ्चालन गर्ने जिम्मेवारी लिएका छन् । सोहीअनुरुप भारतले कोंकण रेलवे कर्पोसनलाई रेल निर्माण तथा सञ्चालनको जिम्मेवारी दिएको छ भने नेपालमा भने विभागले जिम्मेवारी लिएको छ ।

भारत सरकारअन्तर्गत कोंकण कर्पोरेसनले नेपालमा ल्याउने दुईवटा रेल निर्माणको जिम्मेवारी भने इन्ट्रिग्रिललाई दिएको हो । ‘हामीले रेल सेट खरिद गर्छौं भने रेलको अन्य आर्थिक र प्राविधिकको जिम्मेवारी भनेको भारत सरकारअन्तर्गत कोंकण रेलवे कर्पोरसन लिमिटेडको रहेको छ’, उनले भने । यस्तै सरकारको अप्रत्यक्ष लगानी भनेको भन्सार छुट, रेल ट्र्याक निर्माणको लागि मुआब्जा वितरणलगायतको कार्य रहेको उनले बताए ।

रेल जयनगरदेखि कुर्थासम्म सञ्चालन गरिने विभागले जनाएको छ । कुल ६९ किलोमिटर दूरी रहने रेलमार्गअन्तर्गत पहिलो चरणअन्तर्गत जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालन हुने उनले बताए । ‘जयनगरदेखि जनकपुरसम्म ५२ किलोमिटर चल्नेछ भने रेलको ट्र्याक अर्थात् रुट बर्दियासम्म हो । पछि यसलाई दुवैतर्फ बढाउँदै लैजानेछौं’, उनले भने । जयनगरदेखि कुर्थासम्म सञ्चालनको लागि ट्र्याक निर्माण कार्य ३५ किलोमिटर तयार भइसकेको विभागले जनाएको छ । ३५ किलोमिटर तयार भएको र बाँकी १७ किलोमिटर तयार हुने क्रममा रहेको उनको भनाइ छ ।

सो खण्डमा आठवटा स्टेसन निर्माण गरिने बताइएको छ । जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, वैदेही, पर्वाह, जनकपुरा र कुर्था गरी आठवटा स्टेसन रहेको विभागले जनाएको छ । स्टेसनमा टिकट काउन्टर र अन्य कर्मचारीहरु रहनेछन् । प्रत्येक स्टेसनमा १० देखि १२ जना कर्मचारी रहनेछन् । शतप्रतिशत निर्माण सम्पन्न भएको रेलको भने छिटै परीक्षण गर्ने बताए । रेल ल्याउनको लागि पूर्वाधार निर्माणको क्रममा रहेको बताँउदै उनले ट्र्याक निर्माणसँगै रेल ल्याई परीक्षण गरिनेछ । ‘हाल नेपालमा सञ्चालन हुने रेल भारतबाट हिँडेको छैन’, उनले भने, ‘जति पनि बाहिर आएको कुरा छ त्यो आधिकारिक होइन ।’ रेल सञ्चालनको लागि पूर्वाधार अर्थात् रेलवे ट्र्याक निर्माण हुनु जरुरी रहेको उनले बताए ।

ऐन संसद्मा :- रेल सञ्चालनको लागि तयार गरिएको ऐन भने संसद्मा पुगेको छ । ‘रेलवे ऐन प्रतिनिधिसभामा पुगेको छ’, उनले भने, ‘जसले गर्दा रेल सञ्चालन गर्न समस्या आउला भनेर हामी आन्तरिक तयारीमा जुटेका छौं।’ रेल आएमा कसरी अघि बढ्ने भन्ने कुरामा निरन्तर छलफल चलाएको उनको भनाइ छ ।

संसद्मा विद्यमान समस्याले गर्दा ऐन संसद्मा हुँदा विनियमावली, कार्यविधि निर्माणमा समेत असर पुग्नसक्ने विभागले जनाएको छ । रेल सञ्चालनको लागि विनियमावली निर्माणमा केही ढिलाइ हुनसक्छ तर रेल आएपछि अस्थायी कर्मचारी नियुक्त गरेर भए पनि सञ्चालन गर्ने तयारीमा विभाग रहेको छ । ‘हामीले रेलसेवा आउने भनेसँगै त्यसको तयारी थालेको छौं’, मिश्रले भने, ‘यसको लागि आवश्यक जनशक्ति लिने तयारीमा छौं । विभागमा छलफल चलाइरहेका छौं ।’

हाल विभागमा २४ जना स्थायी कर्मचारी रहेका छन् । भोलि रेल सञ्चालनसँग दुई सय संख्यामा कर्मचारी आवश्यक पर्ने विभागले जनाएको छ । ‘स्टेसन निर्माण गर्नुपर्ने हुन्छ भने स्टेसनसँगै टिकट काउन्टर, सरसफाइ गर्ने मानिस लगायतका मानवीय जनशक्ति समेत आवश्यक पर्छ’, उनले भने, ‘यसका लागि करारमा कर्मचारी नियुक्ति गर्ने तयारी छ ।’

मल्टी पर्पोज डेमो रेल :- विभागका सूचना अधिकारी अमन चित्रकारले नेपाल भित्रिने दुईवटै रेललाई डेमो पर्पोज रेल भनिने बताए । डिजेल र विद्युतीय इनर्जीमार्फत रेल चल्न सक्ने हुँदा मल्टी पर्पोज डेमो रेले हो । यस्तै रेल मोडिन नसक्ने हुदाँ दुईतर्फ अघिल्लो भाग हुनेछ । रेल मोडिन सक्दैन त्यसैले गर्दा दुईतर्फ नै इन्जिन तथा चालकदलका सदस्यहरु रहन सक्ने उनले जानकारी दिए । ‘यसरी दुईतर्फ नै इन्जिन रहने हुँदा पावर सप्लाई भने आवश्यकताअनुसार दुवैतर्फको अघिल्लो भागमा हुनेछ’, उनले भने ।

चालकदलमा दुई जना व्यक्ति हुने उनले बताए । रेलमा एक जना लोको पाइलट र अर्का एक जना सहयोगी लोको पाइलट हुनेछन् । हाललाई भारतको सहयोगमा रेल चलाउनको लागि लोको पाइलट र सहयोगी लोको पाइलट रहने भए पनि पछि भने नेपालीलाई नै दक्ष बनाउने विभागको तयारी रहेको उनले बताए । ‘हामी नेपालीलाई नै प्रशिक्षण दिएर रेल चलाउन सक्ने बनाउनेछौं’, उनले भने, ‘त्यसपछि भारतको प्राविधिक सहयोग अन्त्य हुन्छ ।’ यद्यपि विभागले हालसम्म विदेशमा रहेका रेल चलाउन जान्ने प्राविधिकलाई लिएर सोधखोज नगरेको जनाएको छ ।

हजार जना क्षमता :- रेलमा रहेको एउटा डिब्बाको करिब लम्बाइ २२ मिटर तथा चौडाइ ३ मिटर र सात फिट उचाइ हुनेछ । एउटा सेटमा पाँचवटा डिब्बा हुनेछ भने प्रत्येक डिब्बामा बसेर र उभिएर गरेर करिब एक सयदेखि डेढ सय जना यात्रुले यात्रा गर्न सक्नेछन् । दुईवटा सेटमा गरेर दशवटा डिब्बा हुन्छ । दुईवटा रेलमा एयरकन्डिसनसहितको एउटा डिब्बा रहेको छ जसमा बस्ने र उभिने गरेर ८४ जना यात्रु अट्नेछन् । डिब्बाको दायाँ बायाँ दुई/दुईवटा सिट हुनेछ । रेलमा नेपालको झण्डा अंकित रंगको प्रयोग गरिने उनले बताए । नेपालको झण्डामा भएको निलो रातो रंग रेलको बाहिरी भागमा प्रयोग गरिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया