Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिगमलाई नाफामूलक अवस्थामा पु-याउन आग्रह

निगमलाई नाफामूलक अवस्थामा पु-याउन आग्रह


काठमाडौं ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले वायुसेवा निगमलाई नाफामूलक अवस्थामा पु-याउन आग्रह गरेका छन् । नेपाल वायुसेवा निगममा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री अरगरियाले निगमसँग भएका विमानहरुको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा पु-याउन आग्रह गरेका हुन् ।

दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि उनले बताए । निगमले कोरोनाको महामारीमा पनि आफ्नो जिम्मेवारी सक्षमता साथ पूरा गरेको भन्दै उनले अझ दह्रिलो कार्ययोजनासहित अघि बढ्न तत्कालै योजना बनाउन र गुमेको बजार पुनः प्राप्त गर्न ठोस कार्यको आवश्यकता रहेको औँल्याए । साथै उनले निगम नाफामूलक मात्र होइन, सेवामूलक समेत हो भन्ने अवधारणासहित अगाडि बढ्न सल्लाह दिँदै सरकारका तर्फबाट पूर्ण सहयोग हुने वचनबद्धता व्यक्त गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नयाँ परिप्रेक्ष्यमा निगमलाई ठोस कार्ययोजनासहित अगाडि बढाउनुपर्ने आवश्यकता रहेको औँल्याए । उनले निगमलाई परम्परागत ढंगमा अगाडि बढाउन नसकिने यथार्थलाई अंगीकार गर्र्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगतितर्फ लैजान सम्बन्धित क्षेत्रको भूमिका उल्लेखनीय रहने बताए । संस्थालाई कसरी नयाँ मोडेलमा लैजाने भन्ने कुरामा विभिन्न विकल्पबारे अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

निगमका लागि अगाडि भएका प्रयास पर्याप्त नभएको अनुभव बताउँदै उनले वर्तमान महाप्रबन्धकबाट संस्थालाई कसरी अगाडि बढाउने भन्नेमा व्यावहारिक प्रयास भइराखेको जानकारी समेत गराए । उनले निगमलाई पुँजीवृद्धिको आवश्यकता अनुभव भएकोले व्यवस्थापनको उच्च सोच र कर्मचारीमा सामूहिक सक्रियताले संस्था प्रगतितर्फ लाग्ने बताए ।

महाप्रवन्धक डिमप्रसाद पौडेलले विगतका गतिविधिहरुबारे प्रकाश पार्दै भविष्यका कार्ययोजनाबारे विस्तृत रुपमा अवगत गराएका थिए । निगमलाई तत्काल अन्तर्राष्ट्रिय विमान कम्पनी बनाउन नसकिए पनि क्षेत्रीय कम्पनीको रुपमा सक्रिय र सक्षम बनाउन निगम परिवार सकारात्मक रुपमा लागिपरेको उल्लेख गरे ।

यस्तै पौडेलले यात्रुहरुको लागि विश्वको झण्डै आधा जनसंख्या भएको भारत र चीन राम्रो बजार रहेको र वैदेशिक रोजगारीमा जानेहरु पनि पर्याप्त मात्रामा भएकोले निगमले क्षेत्रीय विमान कम्पनीकै रुपमा पनि लगानीको राम्रो प्रतिफल लिनसक्ने बताए । उनले एयरबसहरुको उडान घण्टाको उपयोग अन्तर्राष्ट्रियस्तरमै राख्न सकिएकोमा सन्तोष व्यक्त गर्दै भविष्यमा प्रयोगमा आउने भैरहवा र पोखराको विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग सेवाबापतको राजस्वमा पाँच वर्षका लागि छुट गराउन र सरकारी कर्मचारीले अन्तर्राष्ट्रिय उडानमा निगमको विमान प्रयोग गर्नुपर्ने प्रावधान राख्न पनि अनुरोध गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया