Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन महासंघको आग्रह

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन महासंघको आग्रह


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको वर्गलाई खोपमा प्राथमिकता दिन सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ्गलाई भेटी अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो ।

अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्बाध उत्पादन र वितरणका लागि काम गरिरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनीहरूले जोड दिएका थिए । जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पूरा गर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्ने महासंघका अध्यक्ष गोल्छाले बताए । महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएटअन्तर्गतका सबैलाई अवको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाउन उनले आग्रह गरेका थिए ।

कोभिड १९ को महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र बन्दाबन्दीका समयमा पनि उद्यमी व्यवसायीले निर्बाध रुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरिरहेको र संकटको घडीमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ र यसको सिंगो सञ्जाल नै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माणसहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको महासंघको भनाइ छ । आगामी दिनमा पनि क्रियाशील रहने प्रतिबद्धता महासंघले जनाएको छ । प्रतिनिधिमण्डलमा महासंघको चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीको पनि सहभागिता थियो ।

महासंघसँगको भेटवार्तामा मन्त्री तामाङ्गले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । कोभिडले समग्र अर्थतन्त्र नै जर्जर बनाएकाले अर्थतन्त्रलाई तत्काल तंग्रिने वातावरण बनाउन यस क्षेत्रमा जोडिएका सबैलाई खोप दिई काममा फर्काउन जरूरी भएको कुरालाई सरकारले मनन गरिसकेकाले उद्योग व्यवसायसँग प्रत्यक्ष जोडिएको जनशक्तिलाई खोप लगाउन आफूले पहिलो प्राथमिकता दिएर जाने उनले विश्वास दिलाए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया