Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदेशभर अधिक वर्षा : जलविद्युत् आयोजना, सडक, पुल, बस्तीमा अर्बौंको क्षति

देशभर अधिक वर्षा : जलविद्युत् आयोजना, सडक, पुल, बस्तीमा अर्बौंको क्षति


काठमाडौं ।
मनसुन सुरु भएसँगै आएको भारी वर्षाको कारण देशभर सयौँ व्यक्ति बेपत्ता भएका छन् भने जलविद्युत् आयोजना, सडक, पुल, मानव बस्तीका निजी घरमा ठूलो क्षति पु-याएको छ । प्राकृति प्रकोपका कारण अर्बौँ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान गृह मन्त्रालयले गरेको छ । यद्यपि क्षतिको एकीन विवरण संकलन नै सुरु गरिएको छैन ।

‘प्राकृतिक विपत्तिको बेला पहिला उद्धार र राहतका कार्यक्रम सञ्चालन गरेर मात्र क्षतिको विवरण संकलन गरिन्छ’, गृह मन्त्रालयका एक अधिकारीले भने, ‘वर्षा अझै पनि जारी रहेको कारण अझै कति क्षति पुग्छ भन्न सकिन्न । तर, प्रारम्भिक अनुमानमा अर्बौँ रुपैयाँको क्षति पुगेको देखिन्छ ।’

बाढी र पहिरोले जलविद्युत् आयोजनालाई क्षति पु-याएको छ भने मोटरेबल र झोलुङ्गेपुल बगाइदिएको छ । त्यस्तै कालोपत्रे सडक पनि तहसनहस भएको छ । सिन्धुपाल्चोकको मेलम्चीलगायतका स्थानमा ठूलो मानवबस्तीलाई नै क्षति पु-याएको छ । मेलम्ची नदी बस्तीमा पस्दा पक्की घरहरूको तीन तलासम्म डुबानमा परेको छ । घरमा बाढी पस्दा करोडौं मूल्यका सामानहरू नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ । मेलम्चीमा कैयौँ पक्की घरहरू बस्नै नसक्ने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको बाँध पनि बाढीले बगाएको छ । त्यसको क्षति कुन हदसम्मको भन्नेबारे अझै एकीन हुनसकेको छैन । बाढी र पहिरोले मेलम्ची क्षेत्रमा ठूलो मात्रामा मानवीय क्षति पुगेको अनुमान गरिएको छ । यद्यपि बेपत्ता भइरहेकाहरूको एकीन भएको छैन । मेलम्चीभन्दा माथिल्लो क्षेत्रमा नदी थुनिएको कारण मेलम्ची बजारमा क्षति पुगेको हो । उक्त क्षेत्रको सडक, पक्की पुल, सरकारी र विभिन्न व्यक्तिका घर नै बगाएको छ मेलम्ची क्षेत्रमा मात्रै अर्बौैँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरूको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।

केही दिन अगाडिदेखि परेको अविरल वर्षाको कारण कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । मादी गाउँपालिकामा चारवटा जलविद्युत् आयोजनामा बाढी र पहिरोले क्षति पु-याएको छ । मादीको नदी किनारमा रहेको ४४ मेगावाटको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजना र हाल सञ्चालनमा रहेका १० मेगावाटको सिक्लेस हाइड्रो पावर, १२ मेगावाटको हिमालयन हाइड्रो (नार्माजुङ र २५ मेगावाटको अपर मादी)मा पनि बाढी र पहिरोले क्षति पु-याएको छ । क्षति पुगेपछि ती आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।

पहिरोले प्रसारणलाइन बगाएको छ भने पावरहाउसमा पनि क्षति पु-याएको छ । आगामी वर्ष विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सुपर मादी आयोेजनामा त सबैभन्दा धेरै क्षति पुगेको छ । सात अर्ब ५० करोड रुपैयाँ लगानीमा बन्दै गरेको उक्त आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । उक्त आयोजनाको इलेक्ट्रो मेकानिकल, हाइड्रो मेकानिकल, सिभिलतर्फको निर्माण सामग्री, प्लान्ट उपकरण, सिभिल संरचनामा ठूलो क्षति पुगेको छ । उक्त आयोजनाको बाँध, विद्युत् गृह, हाइड्रो मेकानिकल र अन्य सिभिल संरचना पनि बगाएको छ ।

सडक माथिबाट पहिरो खस्दा दुई दिनदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग खुलाउन समस्या भएको छ । बैतडीको खोड्पेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको छ । अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थलमा रहेको सेतीवेणी बजार कालीगण्डकी र सेतीखोलाको किनारमा अवस्थित छ । कालीगण्डकीमा पानीको बहाव बढ्नासाथै सेतीखोलामा पानीको सतह बढ्ने भएकाले यो ठाउँ वर्षेनी डुबानमा पर्ने गरेको छ । स्याङ्जातर्फको गल्याङ–५ सेतीवेणी बजार डुबानमा पर्दा आठ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने २४ जना विस्थापित भएका छन् ।

लगातारको वर्षाका कारण लुम्बिनी प्रदेशका नदीमा पानीको बहाव उच्च हुँदा आसपासका बस्ती असुरक्षित भएका छन् । लगातारको वर्षाले तराईका जिल्लामा डुबान सुरु भएको छ भने बाढी र पहिराले विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । वर्षाले गुल्मीको काली गण्डकी नदी, बढीघाट खोला, रुपन्देहीको तिनाउ नदीमा जल सतह बढेकाले आसपासका बस्ती असुरक्षित भएका छन् । राप्ती नदीमा पानीको सतह बढेपछि बाँके र दाङका दर्जनौं बस्ती जोखिममा छन् । बुटवलमा तिनाउ नदीले खतराको तह छुनलागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

यस्तै अविरल वर्षासँगै खसेको पहिराका कारण पाल्पा–बुटवल सडकखण्ड पनि अवरुद्ध छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै झण्डै ५० मिटर सडक बगाएको छ । डुम्रे खोलामा पानीको वहाव बढेको र माथिबाट खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो  । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको थियो ।

यस्तै, पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढीपहिराबाट घरमा क्षति पु¥याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । लमजुङ, दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको बाढीले १४ घर बगाएको हो ।

चितवनको नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको वहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । नारायणी बेसिन कार्यालय भरतपुरका अनुसार सन् १९६२ फेब्रुअरी १० देखिजलस्तर मापन सुरु गरिएको थियो । सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार तीन सय घनमिटर प्रतिसेकेण्ड वहाव मापन गरिएको थियो ।

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड मंगलबार राति तोडिएको हो । नारायणी नदीको खतराको तह आठ मिटर र वहाव नौ हजार नौ सय ९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ । समन्वय गरेर काम गर्न निर्देशन

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण हाल उत्पन्न बाढी पहिरोबाट थप जनधनको क्षति रोक्न समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् । सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आकलन गरी तयारी गरिरहेको र हाल सोहीअनुरुप कार्य भइरहेको पनि प्रधानमन्त्रीले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बुधबार सम्पन्न छैठौं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ताकपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपांगता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया