Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगमा वैदेशिक लगानी ४० प्रतिशतले घट्यो

उद्योगमा वैदेशिक लगानी ४० प्रतिशतले घट्यो


काठमाडौं ।
नेपालको उद्योग क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी ४० प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्ष (२०७६/०७७) को ११ महिना (जेठ मसान्त) को अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत उद्योग क्षेत्रमा आउने लगानी रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत अर्थात् १७ अर्ब ९७ करोड ९७ लाख रुपैयाँले कमी आएको उद्योग विभागले जनाएको छ ।

चालू आर्थिक वर्ष (२०७६/०७७) को ११ महिना (जेठ मसान्त) को अवधिमा प्रत्यक्ष विदेशी लगानीमार्फत २६ अर्ब एक करोड ९१ लाख रुपैयाँ भित्रिएको उद्योग विभागले जानकारी दिएको छ । सो रकम एक सय ५१ वटा ऊर्जा, पर्यटन, कृषि, उत्पादनजन्य लगायतको उद्योग स्थापना तथा चार हजार तीन सय ३५ जनालाई रोजगारी दिने उद्देश्यका साथ विदेशी लगानीकर्ताले विभागबाट स्वीकृत गराएका हुन् ।

गत आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानीकर्ताहरूले एक सय ८७ वटा उद्योग स्थापना गर्ने भन्दै ४३ अर्ब ९९ करोड ८८ लाख विभागबाट स्वीकृत गराएका थिए । उनीहरूले नौ हजार चार सय ५१ जनालाई रोजगारी दिने समेत बताएका थिए ।

चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा सबैभन्दा बढी लगानी पर्यटन, सेवा, उत्पादन, सूचना प्रविधि, कृषि, वनजन्य र ऊर्जाजन्य उद्योगका लागि लगानी स्वीकृत गराइएको छ । उनीहरूले १५ अर्ब ९३ करोड ८५ लाख पर्यटन, पाँच अर्ब ५३ करोड ५० लाख सेवा, दुई अर्ब ८३ करोड ५६ लाख उत्पादन, एक अर्ब तीन करोड सूचना प्रविधि, ५६ करोड कृषि तथा वनजन्य र १२ करोड ऊर्जाजन्य उद्योग स्थापनाको लागि लगानी स्वीकृत गराएका छन् । विदेशी लगानीकर्ताहरूले सो लगानी स्वीकृत ८३ वटा पर्यटन, ३५ वटा सेवा, १६ वटा उत्पादन, १२ वटा सूचना प्रविधि, तीन वटा कृषि तथा वनजन्य र दुईवटा ऊर्जाजन्य उद्योग स्थापनाको लागि गरेका हुन् ।

त्यस्तै, गत आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानीकर्ताहरूले सबैभन्दा बढी ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, सेवा, उत्पादन र कृषि तथा वनजन्य उद्योगको लागि लगानी स्वीकृत गराएका थिए । उनीहरूले ११ अर्ब ८२ करोड २६ लाख ऊर्जा, १० अर्ब ५५ करोड ४४ लाख सूचना तथा प्रविधि, नौ अर्ब १४ करोड ३२ लाख पर्यटन, आठ अर्ब ७२ करोड ५० लाख सेवा, तीन अर्ब २१ करोड ८५ लाख उत्पादन र ५३ करोड ५० लाख कृषि तथा वनजन्य उद्योग स्थापनाका लागि लगानी स्वीकृत गराएका हुन् । सो लगानी स्वीकृत एक सय ८७ वटा उद्योग तथा नौ हजार चार ५१ जना रोजगारी दिनको लागि गरिएको हो ।

११ महिनाको अवधिमा सबैभन्दा बढी लगानी चिनियाँ र त्यसपछि क्रमशः ब्रिटिश भर्जिन आइसल्याण्ड, अमेरिका, भारतलगायतका मुलुक रहेको विभागले जनाएको छ । १८ अर्ब चिनियाँ, तीन अर्ब ब्रिटिश भर्जिन आइसल्याण्ड, एक अर्ब ८३ करोड अमेरिकी लगानीकर्ताहरूले उद्योग स्थापनाका लागि लगानी स्वीकृत गराएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया